नेभिगेशन
विश्व

प्यालेस्टाइनीको समर्थनमा हलिउड

गाजामा भइरहेको मानवतावादी सङ्कटको प्रतिक्रिया स्वरूप, शीर्षस्तरका हलिउड कलाकार र चलचित्र निर्माताहरूले इजरायलको चलचित्र उद्योग बहिष्कार गर्ने घोषणा गरेका छन् । गत साता लस एन्जलसमा आयोजित ७७औं प्राइमटाइम एमी अवार्डको रातो कार्पेटमा अभिनेता हवियर बार्देमले कालो–सेतो केफिये (प्यालेस्टिनी स्कार्फ) लगाएर हिँडे ।

‘आज म यहाँ गाजामा भइरहेको नरसंहारको विरोध गर्न आएको छु,’ उनले भेराइटी पत्रिकालाई भने । बार्देमले एमा स्टोन, जोआक्विन फिनिक्स, मार्क रफालो र चार हजारभन्दा बढी व्यक्तिसहित फिल्म वर्कर्स फर प्यालेस्टाइनी समूहद्वारा गरिएको प्रतिज्ञामा हस्ताक्षर गरेका छन् ।

यसै सातामा संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार गरिरहेको निष्कर्ष निकालेको छ। इजरायलले भने यो आरोप अस्वीकार गर्दै आयोगका सदस्यहरूलाई ‘हमासका प्रतिनिधि’ भएको आरोप लगाएको छ ।

बार्देमले भने, ‘म नरसंहारलाई समर्थन गर्ने वा औचित्य दिनेहरूसँग काम गर्न सक्दिनँ। म त्यस्ता चलचित्र कम्पनी र संस्थासँग म काम गर्न सक्दिन, जसले इजरायली शासनको नरसंहार र रंगभेदी नीतिलाई ढाकछोप गर्छन् ।’

एमी अवार्ड कार्यक्रममा ‘ह्याक्स’का लागि उत्कृष्ट सहायक हास्य अभिनेत्रीको पुरस्कार लिन मंचमा पुगेकी हाना आइन्बाइन्डरले ‘फ्री प्यालेस्टाइन !’ भन्दै नारा लगाइन् । आफ्नो भाषणको अन्त्यमा उनले भनिन्, ‘अन्तमा भन्न चाहन्छु, गो बड्र्स, फक् आइस एन्ड फ्रि प्यालेस्टाइन ।’

बहिष्कारको उद्देश्य

पत्रकारहरूसँग उनले भनिन्, ’यो बहिष्कार इजरायली सरकारलाई युद्ध रोक्न दबाब दिने प्रयास हो । मेरो गाजामा साथीहरू छन्, जो अहिले डाक्टरका रूपमा शरणार्थी शिविरमा महिला र बालबालिकाको उपचार गर्दैछन्। म यहूदी भएकाले यहूदीहरूलाई इजरायल राज्यसँग छुट्याउने जिम्मेवारी मेरो हो ।’ 

यो अभियान सञ्चालकहरूले सन् १९८० को दशकमा स्पाइक ली, स्टीभेन स्पिलबर्ग, सुसान सिडलमन र मार्टिन स्कोर्सेसीलगायतले रंगभेदी दक्षिण अफ्रिकामा आफ्ना फिल्म नदेखाउने निर्णयबाट प्रेरित भएर यो अभियान सञ्चालन गरेको बताइरहेका छन् । 

फिल्म वर्कर्स फर प्यालेस्टाइनले यो बहिष्कार व्यक्तिगत कलाकारविरुद्ध नभई संस्थागत रूपमा रहेको बताएका छन् । खासगरी इजरायली चलचित्र निर्माण-वितरण कम्पनी र चलचित्र महोत्सवविरुद्ध यो अभियान सञ्चालन गरिएको उनीहरूको प्रष्टोक्ति छ ।

प्रतिक्रिया र विरोध

यो बहिष्कारलाई केही यहूदी नेताहरू, संगठनहरू र प्यारामाउन्ट स्टुडियोले विरोध गरेका छन् । प्यारामाउन्ट स्टुडियोले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रियताको आधारमा कलाकारलाई चूप लगाउन खोज्नुले शान्तिको पक्षलाई अघि बढाउँदैन।’

इजरायली चलचित्र उद्योगका केही समूहले पनि कलाकारहरूको यो अभियानलाई आपत्ति जनाएका छन् । फ्रेन्ड्स अफ दि इजरायली प्रोड्युसर्स एसोसिएसन नामक संस्थाले बहिष्कारलाई ‘गम्भीर भूल’ भनेको छ ।

इजरायली चलचित्र तथा टेलिभिजन अकादेमीका प्रमुख असाफ अमिरले भने, ‘हामीलाई थाहा छ, यो गाजा युद्ध रोक्ने प्रयास हो तर यसले युद्ध रोक्दैन। बरु हाम्रो आवाज उल्टो कमजोर हुन्छ। हामी सरकारकै आक्रमणको निशानामा छौँ।’ उनले इजरायली चलचित्रकर्मीहरूले लामो समयदेखि आफ्नै सरकारलाई आलोचना गर्दै आएको बताए ।

‘द सी’ र संस्कृति मन्त्रीको धम्की 

यसै हप्ता इजरायली एकेडेमीले ‘द सी’ नामक युद्धविरोधी फिल्मलाई प्रतिष्ठित ओफिर अवार्ड दिएको छ । यसले पश्चिमी किनारामा बस्ने १२ वर्षीय प्यालेस्टिनी बालकको कथा सुनाउँछ । 

उसले तेल अभिभको समुद्र हेर्न आफ्नो जीवन जोखिममा हाल्छ । यो फिल्म प्यालेस्टिनी निर्माता, इजरायली निर्देशक र प्यालेस्टिनी–इजरायली कलाकारहरूले बनाएका हुन् ।

एकेडेमीले यसलाई आगामी अस्करको अन्तर्राष्ट्रिय चलचित्रमा प्रविष्टि पनि पाएको छ । तर इजरायलका संस्कृति तथा खेलकुद मन्त्री मिकी जोहारले यसलाई ‘इजरायली सैनिकहरूको अपमानजनक चित्रण’ भन्दै यसलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । 

उनले नयाँ ‘स्टेट इजराइली अस्कर्स’ स्थापना गर्ने घोषणा पनि गरेका छन् । अमिरले भने, ‘मन्त्रीले परिणाम मन परेन भनेर राज्यको पैसा खोस्ने अधिकार छैन । यो हास्यास्पद छ ।’ 

उनको भनाइमा, इजरायली सरकारले हलिउड कलाकारहरूको कुरा वास्ता नगर्ने र बरु बहिष्कारलाई आफ्ना चलचित्रकर्मीलाई सजाय दिने अवसरका रूपमा लिन सक्ने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्