नेभिगेशन
अर्थतन्त्र

शेयरबजार २८ सयभन्दा तल

new24 संवाददाता, काठमाडौं, २७ साउन । सेयरबजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २८२२.४६ विन्दुमा रहेको नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको छ । यसदिन परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । कुल छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर बिनबेच भएको छ । 

नेप्से घट्न थालेपछि बजारमा चहलपहल पनि कम हुँदै गएको छ । कारोबार रकम घट्दै गएको छ भने शेयर किन्नेहरू कम देखिन्छन् । यसअघि नाफा कमाएकाहरूले भने शेयर बेच्न खोजेको देखिन्छ । नाफा सुरक्षित गर्न शेयर बेच्नेहरू सक्रिय हुँदा बजारमा दबाब देखिएको विश्लेषकहरू बताउँछन् । 

अहिले बैंक तथा वित्तीय संस्थाले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये अधिकांशको नाफा बढेको देखिन्छ । तर केही बैंकको वितरणयोग्य मुनाफा न्यून छ । त्यसैले शेयर किन्नेहरू अहिले पर्ख र हेरको अवस्थामा देखिन्छन् । सै कम्पनीहरूको वित्तीय विवरण आइसकेपछि उच्च नाफा वितरण गर्न सक्ने कम्पनी हेरेर शेयर किन्ने मुडमा लगानीकर्ता रहेको कारण अहिले बजारमा बिक्री दबाब बढेको लगानीकर्ताहरू बताउँछन् । 

मंगलबार कारोबार भएका २५० कम्पनीमध्ये २२५ वटाको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै २४ वटा कम्पनीका शेयरधनीले कमाएका छन भने एउटाको शेयरमूल्य स्थिर रहेको छ । 

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ४.०३ अंकले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यस्तै साधारण शेयरको कारोबारमापन गर्ने फ्लोट सूचक १.८४ अंकले घटेर १९१.६९ विन्दुमा झरेको छ । सेन्सिटिभ फ्लोट सूचक पनि १.८३ अंकले घटेर १६४.५५ विन्दुमा कायम भएको छ । 

सूचीकृत १३ समूहमध्ये होटल तथा पर्यटन समूह मात्रै बढेको छ । बाँकी सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह १.३२ प्रतिशत बढेको छ । खासगरी सिटी होटलको शेयरमूल्यमा उच्च वृद्धि भएपछि यो समूह बढेको हो । 

सबैभन्दा धेरै फाइनान्स समूह १.५३ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त समूह १.४९ प्रतिशत, जलविद्युत १.२६, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन एक प्रतिशत घटेको छ । बैंकिङ समूह ०.९४ प्रतिशत, व्यापार समूह ०.८६, निर्जीवन बीमा ०.८१, विकास बैंक ०.७६, लगानी ०.६६, अन्य ०.६२ र म्युचुअल फण्ड ०.२४ प्रतिशत घटेको छ ।

सिटी होटलको शेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । बजार बन्द हुँदा यो कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । त्यसपछि समाज लघुवित्तको ४.३४ प्रतिशत, कालिका पावरको २.३७, ग्रीन भेन्चर्सको २.२५ र युनिलिभर नेपालको २.०६ प्रतिशत शेयरमूल्य बढेको छ । सिक्लेस हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् । यो कम्पनीको शेयर कारोबारमा नकारात्मक सर्किट लागेको छ । यसपछि उन्नति सहकार्य लघुवित्तको ८, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६.१४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.२० प्रतिशत र बोटलर्स नेपाल (बालाजु)को ३.९६ प्रतिशतले शेयरमूल्य घटेको छ । 

मंगलबार मात्रै लगानीकर्ताको सम्पत्ति ४२ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण पनि १५ अर्ब रुपैयाँ घटेर १५ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्