तमिलनाडु, १२ असोज - तमिल चलचित्रका सुपरस्टार तथा नव–राजनीतिज्ञ विजय थलापतिको चुनावी र्यालीमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शनिबार साँझ तमिलनाडुको करुरमा आयोजित उक्त र्यालीमा भएको भीड नियन्त्रणको असफलताले ज्यान जानेहरूमा १० बालबालिका र १६ महिलासमेत परेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हालसम्म ३४ जनाको शव पहिचान भइसकेको छ भने बाँकी पाँच जनाको शव पहिचानको प्रक्रिया जारी छ । घटनामा एक वर्षअघि मात्र विवाह भएका तिरुचिरापल्लीका एक युवकको मृत्यु भएपछि उनकी नौ महिनाकी गर्भवती श्रीमती शोकमा छन् । यस्तै, करुरकै विश्वनाथपुरी क्षेत्रकी हेमलता र उनका दुई छोरीले पनि ज्यान गुमाएका छन् ।
अधिकारिहरूका अनुसार २८ जना मृतक करुर जिल्लाका बासिन्दा हुन् । तीमध्ये सात जना एउटै गाउँका थिए । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । तमिल वेट्री कडगम (टीभीके)का अध्यक्ष एवम् अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका छन् ।
दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एकसमा उनले एउटा पोस्टमा लेखेका छन् । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको छ । ‘यस्ता ठुलो हानी हेर्दा यो राशिको कुनै अर्थ छैन । तर, पनि यो समय तपाईँको परिवारको सदस्यको नाताले मेरो कर्तव्य हो कि म तपाईँहरूको साथमा उभिरहुँ ।’ विजयले सामाजिक सञ्जालमा लेखका छन् ।
अनुशासनहीनता र ढिलाइले बिग्रियो स्थिति
प्राप्त विवरण अनुसार, हजारौँ समर्थक उपस्थित रहेको कार्यक्रममा विजयको आगमनमा ढिलाइ भएपछि भीड आक्रोशित बनेको थियो । विजयले बसतर्फ जान खोज्ने क्रममा केही समर्थक लडेपछि भागदौड सुरु भएको हो । त्यसमाथि अत्यधिक गर्मीका कारण पनि अवस्था जटिल बन्यो । स्वास्थ्यमन्त्री सुब्रमण्यमले र्यालीमा ‘अनुशासनको कमी’ रहेको भन्दै घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको जानकारी दिए ।
बेहोस समर्थक, बीचमै रोकियो भाषण
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विजयले आफ्नो प्रचार गाडीबाट र्यालीलाई सम्बोधन गरिरहँदा करिब ३० जना समर्थक बेहोस भएका थिए । ती सबैलाई तत्काल अस्पताल पुर्याइएको थियो । अवस्था गम्भीर भएपछि विजयले भाषण बीचमै राकेका थिए, केही समयपछि फेरि निरन्तरता दिइएको थियो । तर, भीडमा अराजकता बढेपछि अन्ततः कार्यक्रम रोकिएको थियो ।
विजय र नेताहरूको शोक
घटनापछि विजयले सामाजिक सञ्जाल एक्समा आफ्नो दुःख व्यक्त गर्दै लेखेका छन्, ‘मेरो हृदय टुक्रिएको छ । म अवर्णनीय पीडामा छु।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सेलिब्रिटी र राजनीतिः
तमिलनाडुको गहिरो सम्बन्धतमिलनाडुमा फिल्म स्टारहरूको राजनीतिक प्रभाव लामो समयदेखि देखिँदै आएको छ । विजयले सन् २०२४ मा अभिनयबाट अवकाश लिएर आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए । आगामी चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छैनन्, उनको सक्रिय राजनीतिक यात्रा सुरु भइसकेको छ ।
भारतमा बारम्बार दोहोरिने भीड दुर्घटना
भारतमा ठूला जनसमूह भएका धार्मिक वा राजनीतिक कार्यक्रममा भागदौडका घटनाहरू बारम्बार भइरहेका छन् । यसै वर्षको जनवरीमा भएको महाकुम्भ मेलामा पनि भागदौडका कारण ३० जनाको मृत्यु भएको थियो ।
करुरमा भएको यो पछिल्लो दुर्घटनाले पुनः एकपटक सार्वजनिक कार्यक्रमहरूमा भीड व्यवस्थापन र सुरक्षाको सवाल उठाएको छ । हाल घटनाको छानबिन भइरहेको अधिकारीहरूले जनाएका छन् ।