काठमाडौं, १२ असोज - दशैं अघिको अन्तिम कारोबार दिन शेयरबजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार मापन नेप्से परिसूचक ११.५१ अंकले बढेर २,६६३.५१ विन्दुमा बन्द भएको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । दुई अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँ बराबरको ७५ लाख ११ हजार १९३ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५१ कम्पनीमध्ये १७० वटाको शेयरमूल्य बढेको छ । बाँकीमध्ये ६७ वटाको घटेको छ भने १२ वटाको स्थिर रहेको छ । बजार खुालेपछि केही बढेको सूचक केही समयमा घट्न थालेको थियो । तर १२ बजेपछि फेरि सम्हालिँदै बजार बन्द हुँदासम्म ११.५१ अंकले बढेर बन्द भयो ।
यसदिन समूहगत सूचकहरू पनि बढेका छन् । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ०.७० प्रतिशत बढेर ४६२.५० विन्दुमा पुगेको छ । साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक पनि ०.६४ प्रतिशत बढेर १८२.९५ विन्दुमा पुगेको छ । यस्तै, सेन्सिटिभ फ्लोट सूचक ०.७० प्रतिशत बढेर १५७.६१ विन्दुमा पुगेको छ ।
सूचीकृत १३ वटा समूहमध्ये १० वटा बढेका छन् । तीन वटा घटेका छन् । व्यापार समूह १.२८ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ०.१५ प्रतिशत र अन्य समूह ०.१४ प्रतिशत घटेको छ । म्युचुअल फण्ड ०.९६ प्रतिशत बढेको छ । त्यसपछि, बैंकिङ ०.८४, जीवन बीमा ०.८०, जलविद्युत् ०.७०, लघुवित्त ०.५९, उत्पादन तथा प्रशोधन ०.५१, विकास बैंक ०.४९, निर्जीवन बीमा ०.३२, लगानी ०.१४ र फाइनानस ०.१० प्रतिशत बढेको छ ।
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाइमूल्य १० प्रतिशत बढेको छ । कारोबार भएका कम्पनीमध्ये भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशत बढेको छ । यस्तै, युनियन हाइड्रोपावरको ५.३३ प्रतिशत, नाडेप लघुवित्त वित्तीय संस्थाको ५.२२, शिखर इन्स्योरेन्स कम्पनीको ४.९७ र भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको शेयरमूल्य ४.८७ प्रतिशत बढेको छ ।
बजार बढेपनि सिक्लेस हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा सिक्लेस हाइड्रोपावरसँगै कालिका पावर कम्पनीको ५.२०, चन्द्रागिरी हिल्सको ३.६३, बाराही हाइड्रोपावर पब्लिकको ३.५५ र सिटी होतलको शेयरमूल्य तीन प्रतिशत घटेको छ ।
युनियन हाइड्रोपावरको २४ करोड ११ लाख ४६ हजार रुपैयाँ बराबरको शेयरकारोबार भएको छ । यसैगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३४ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको आठ करोड १८ लाख ६७ हजार रुपैयाँ, एनएमबि बैंक संस्थापक शेयरको आठ करोड १३ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको सात करोड ७८ लाख ६१ रुपैयाँको शेयरकारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति १९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ५२ अर्ब ६८ लाख रुपैयाँ पुगेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण १० अर्ब रुपैयाँ बढेर १५ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।