नेभिगेशन
खेलकुद

युनिटी कप टी–२० : नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जितसँगै दुई अन्तर्राष्ट्रिय रेकर्ड

काठमाडौं, असोज १४ – युनिटी कप टी–२० शृङ्खलामा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले हराउँदै एक खेल अगावै उपाधि सुनिश्चित गरेको छ । सोमबार शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटमा दुई ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो । ओपनर आसिफ शेख ६८ रनमा अविजित रहे भने सन्दीप जोराले ३९ बलमा आक्रामक ६३ रनको योगदान दिए । दुवैबीच चौथो विकेटका लागि पहिलो पटक शतकीय साझेदारी (१०० रन) बनेको छ, जुन नेपालको टी–२० इतिहासमै नयाँ उपलब्धि हो ।

लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो । बलिङतर्फ आदिल आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट झारे । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेटको महत्वपूर्ण योगदान गर्दै विपक्षीलाई दबाबमा राखे ।

यस जितसँगै नेपालले दुई अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेको छ । पहिलो, कुनै एशोसियट राष्ट्रले पूर्ण सदस्य टोलीलाई टी–२० मा सबैभन्दा फराकिलो अन्तरले हराएको रेकर्ड (९० रन) अब नेपालको नाममा छ, जुन यसअघि अफगानिस्तानले जिम्बावेलाई ८१ रनले हराएर बनाएको थियो । 

दोस्रो, एशोसियटले पूर्ण सदस्यलाई सबैभन्दा कम स्कोरमा रोक्ने कीर्तिमान पनि नेपालले आफ्नो पक्षमा पारेको छ । यसअघि नेदरल्याण्ड्सले इंग्ल्यान्डलाई ८८ रनमै रोकेको रेकर्ड तोड्दै नेपालले वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गरेको हो ।

संपूर्ण खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शृङ्खलाको दुवै खेल जित्दै अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्