नेभिगेशन
खेलकुद

युनिटी कपको अन्तिम खेलमा वेस्ट इन्डिजको शानदार प्रदर्शन, नेपाल १० विकेटले पराजित

काठमाडौं । युएईको शारजाह क्रिकेट मैदानमा मंगलबार सम्पन्न युनिटी कप टी–२०आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । यस हारसँगै नेपालले सिरिज २–१ को अन्तरले जितेको छ ।

पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमै १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा तीन छक्का र दुई चौकासहित ३९ रनको योगदान दिए । कप्तान रोहित पौडेल १७ रनमा रोकिए भने सन्दीप जोरा (१४) र कुशल मल्ल (१२) ले दोहोरो अंक छुन सफल भए । बाँकी ब्याटरहरू भने चम्किन सकेनन् ।

जवाफमा, वेस्ट इन्डिजका ओपनर अमिर जाङ्गो र अकिम अगष्टेले उत्कृष्ट साझेदारी गर्दै नेपालका बलरलाई कुनै अवसर दिएनन् । जाङ्गोले ४५ बलमा अविजित ७४ रन प्रहार गर्दा, अगष्टेले नटआउट ४१ रन बनाए । दुवै ब्याटरले मिलेर १२.२ ओभरमै लक्षित १२३ रन पुरा गरी टोलीलाई सहज जित दिलाए ।

बलिङतर्फ वेस्ट इन्डिजका रामोन सिमोन्ड्स सबैभन्दा घातक बने, उनले १५ रन खर्चेर ४ विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट हात पारे भने कप्तान अकिल होसेन र जेसन होल्डरले समान एक–एक विकेट लिए ।

यद्यपि अन्तिम खेलमा हार चाखलाग्दो भए पनि नेपालले सिरिज जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नेपालले टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध द्विपक्षीय टी–२०आई सिरिज जितेको यो पहिलो पटक हो । अब नेपालले अक्टोबर ८ देखि ओमानमा सुरु हुने पूर्वी एसियन प्यासिफिक टी–२० विश्वकप छनोटमा सहभागिता जनाउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्