दीपक खत्री, सिन्धुपाल्चोक, २७ साउन ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले आफूलाई बासी खाना दिएको भन्दै भान्से शंकर कार्कीमाथि कुटपिट गरी जागिरबाट बर्खास्त गरेका छन् । घटनाबारे मिडिया र मानव अधिकारकर्मीमार्फत् उजागर भएपछि मात्रै विषय सार्वजनिक भएको हो ।
पीडित शंकर कार्कीका अनुसार साउन २२ गते दिउँसो करिब २ बजे डीएसपी खरेल क्वार्टरमा खाना खान पुगेका थिए । त्यसअघि, उनले तीनजना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए । डीएसपीका लागि भने सधैंझैं लसुन–प्याज नहालेको सात्विक भोजन, रोटी–तरकारी छुट्टै भाँडामा बनाइएको थियो । तर, त्यस दिन डीएसपी खरेलले ‘मलाई बिहान ४ बजे बनाइएको बासी रोटी खान दिन्छस्?’ भन्दै एक्कासि अपशब्द प्रयोग गर्दै कार्कीलाई दुई झापड हानेका थिए ।
कार्कीका अनुसार, तेस्रो मुक्का रोक्ने प्रयासमा प्रयोग गरिएको ट्रे फुटेर डीएसपीको काँधमा चोट लागेपछि खरेल थप आक्रोशमा आए र उनलाई पशुजस्तै कुटपिट गरे। कुटपिटपछि भाँडा माझिरहेका बेला प्रहरी निरीक्षक रूपेश शाह आएर थप कुटपिट गर्दै कार्कीलाई हिरासतमा पु¥याएको कार्कीले बताएका छन् ।
साउन २३ गते आमाको श्राद्धका लागि घर जानुपर्ने बताएको कार्की घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो । परिवारका अनुसार, उनलाई अचेत हुनेगरी कुटपिट गरी अस्पताल लगिएको भए पनि न त सम्पर्क गर्न दिइयो, न त जानकारी । बाहिरी चोटपटक नदेखिए पनि कार्कीले टाउको झमझमाउने, छाती दुख्ने र सास फेर्न गाह्रो भएको बताएका छन् ।
घटनाको तीन दिनसम्म उनलाई परिवारसँग भेटघाट गर्न दिइएको थिएन । मोबाइल फोनसमेत जफत गरिएको थियो । साउन २६ गते परिवारले प्रहरी कार्यालयसँग छलफलको तयारी गरिरहेकै बेला बिहान १० बजे उनलाई ‘अनुशासनहीन कार्य’को आरोपमा बर्खास्त गरिएको पत्र थमाइएको थियो ।
शंकर कार्कीले बर्खास्ती निर्णयविरुद्ध पुनरावेदनमा जाने तयारी गरिरहेका छन् । उनका अनुसार प्रहरी नियमावलीमा उल्लेखित अनुशासन उल्लंघनसम्बन्धी कारबाहीहरू—जस्तो कि तलब वृद्धिमा रोक, बढुवा रोक्का, सरुवाजस्ता सजायहरू सम्भव हुँदा–हुँदै एकपक्षीय ढंगले बर्खास्त गरिएको छ। परिवार र आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् ।
पत्रकारहरूले घटना पुष्टि गर्न खोज्दा डीएसपी खरेलले सुरुमा ‘यो विभागीय विषय हो, म बोल्न मिल्दैन’ भन्दै पन्छिन खोजेका थिए। सञ्चारकर्मीले बोल्न जोड दिएपछि उनले प्रहरी नियमावलीअनुसार नै कार्कीलाई बर्खास्त गरिएको संक्षिप्त प्रतिक्रिया दिए । घटनाको विस्तृत विवरण भने दिन उनले अस्वीकार गरे ।
केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने मुख्यालयलाई यसबारे जानकारी नभएको बताएका छन् । जिल्ला स्तरमै कारबाही भएको र रिपोर्ट नपठाइएको जनाउँदै उनले जवाफ दिन जिल्ला प्रहरी कार्यालयकै जिम्मा भएको बताएका थिए ।
पीडित पक्षले घटनाको सत्यता पुष्टि गर्नका लागि क्वार्टर आसपासको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । यदि, डिएसपी सही छन् भने
फुटेजबाट सबै खुल्नेछ भन्दै पीडितका आफन्त सपना कार्की र खिला कुमारी कार्कीले सञ्चारकर्मी र मानव अधिकारकर्मीहरूसँग घटनाको न्यायिक समाधानको माग गरेका छन् ।
घटना सुरुमा गुपचुप राखिएको, परिवारलाई भेट्न नदिइएको र उपचारमा ढिलाइ गरिएको जस्ता तथ्यले प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।