नेभिगेशन
नेपाल

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया– प्यासिफिक छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

यसअघि युएईमा वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृङ्खलामा सहभागी १६ खेलाडीमध्ये साहब आलम टोलीबाट बाहिरिएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार उनी बाहेकका अन्य खेलाडी यथावत् रहेका छन् ।

निलम्बनको सजाय भोगेका स्पिनर सन्दीप लामिछाने भने टोलीमा पुनः फर्किएका छन् । वेस्ट इन्डिजविरुद्धको सिरिजमा पहिलो खेलअघि मैदान उत्रन अस्वीकार गरेपछि उनलाई बाँकी दुई खेलमा निलम्बन गरिएको थियो । 

टोलीमा समावेश खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् ।

त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली अहिले ओमानमा प्रशिक्षणमा जुटिसकेको क्यानले जनाएको छ । 

आइसिसीको आयोजनामा हुने यस छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा सहभागी हुनेछन् । नेपालका लागि यो प्रतियोगिता महत्वपूर्ण छनोट चरण हो, जसबाट विश्वकपको ढोका खुल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्