नेभिगेशन
विश्व

जेहादी गायकको आत्मसमर्पण

लेबनानका चर्चित पप गायक तथा पछि खोजी सूचीमा परेका इस्लामिक लडाकु फादेल शाकरले १२ वर्ष लामो फरार जीवनपछि शनिबार देशको सैन्य गुप्तचर सेवासँग आत्मसमर्पण गरेका छन् ।

फादेल शाकर सन् २०१३ जुन महिनामा सुन्नी मुस्लिम लडाकु र लेबनानी सेनाबीच सिडोन नामक तटीय शहरमा भएको रक्तपातपूर्ण भिडन्तपछि फरार भएका थिए । सन् २०२० मा उनको अनुपस्थितिमै मुद्दा चलाइयो र ‘आतङ्कवादी समूहलाई सहयोग गरेको’ आरोपमा २२ वर्ष कैद सजाय सुनाइएको थियो ।

शनिबार राति, लेबनानी सैन्य गुप्तचर टोलीले सिडोन नजिकैको आइन् अल–हिल्वे प्यालेस्टिनी शरणार्थी शिविरको प्रवेशद्वारमा पुगेर शाकरलाई नियन्त्रणमा लिएको बताइएको छ । उनी सो शिविरमा १२ वर्षभन्दा बढी समय लुकेर बसेका थिए ।

यो आत्मसमर्पण रक्षा मन्त्रालयका अधिकारी र मध्यस्थकर्ताबीचको समन्वयपछि भएको बताइएको छ । अब शाकर लेबनानी सुरक्षाको नियन्त्रणमा आएसँगै, उनी फरार अवस्थामा हुँदा पाएको सजाय खारेज हुनेछ र सेनाविरुद्ध अपराध गरेको नयाँ आरोपमा उनलाई फेरि सोधपुछ गरी नयाँ मुद्दा चलाइनेछ ।

शाकरले भने विगतमा सिडोनको भिडन्तमा कुनै भूमिका नभएको र आफूले कहिल्यै हिंसाको समर्थन नगरेको दाबी गरेका थिए ।

सन् २०१३ को त्यो भिडन्तमा कठोर विचारधाराका सुन्नी धर्मगुरु शेख अहमद अल–असिरका समर्थक र लेबनानी सेनाबीच भएको लडाइँमा कम्तीमा १८ जना सैनिक मारिएका थिए । यसले लेबनानमा सुन्नी र सिया मुस्लिमबीचको सम्प्रदायिक तनाव झनै बढाएको थियो ।

सिडोनमा दोश्रो दिनको लडाइँका बेला युट्युबमा अपलोड गरिएको एउटा भिडियोमा दाह्री पालेका शाकरले आफ्ना विरोधीहरूलाई ‘सुँगुर र कुकुर’ भनेर गाली गरेका थिए र सेनालाई हप्काएका थिए, ‘हामीसँग तिमीहरूको दुई वटा सडेका शव छन्, हिजो तिमीहरूबाट खोसिएका ।’ 

सम्भवतः उनले मारिएका दुई सैनिकका बारेमा बताएको लेबनानी सैनिकको बुझाइ छ । फादेल शाकर सन् २००२ मा एक लोकप्रिय गीतबाट अरब विश्वभर चर्चित पप स्टार बनेका थिए । करिब १० वर्षपछि उनी धर्मगुरु अल–असिरको प्रभावमा आए र आफ्ना प्रशंसकहरूलाई चकित पार्दै, सार्वजनिक सभाहरूमा धर्मगुरुसँगै देखिन थाले । पछि उनले गायन छोड्ने र ‘परमेश्वरको नजिक जाने’ घोषणा गरेका थिए ।

सोही वर्षको जुलाईमा शाकरले आफ्ना छोरा मोहम्मदसँगै नयाँ गीत सार्वजनिक गरे, जुन अरब विश्वभर भाइरल भयो र युट्युबमा ११ करोड ३० लाखभन्दा बढी पटक हेरियो ।

शाकरको आत्मसमर्पण त्यस्तो समयमा भएको हो जब लेबनानी सेनाले देशका १२ वटा फिलिस्तिनी शरणार्थी शिविरहरूमा रहेको हतियार संकलन गर्ने प्रक्रिया सुरु गरेको छ, जुन लामो समयदेखि लेबनानी अधिकारीहरूको पहुँचबाहिर रहेका थिए । एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्