काठमाडौं, २० असोज - निर्वाचन आयोगले चुनावी कार्यतालिका स्वीकृत गर्दै दलहरूलाई फेरि एकपटक नयाँ भिडन्तका लागि तयार रहने मिति स्मरण गराएको छ । गत भदौ २३–२४ को जेनजी आन्दोलनपछि सत्ताको स्वरूप बदलिएको देश फेरि एकपटक चुनावी मोडमा छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति औपचारिक विरोध नगर्ने प्रमुख दलहरू अहिले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने पक्षमा देखिएका छन् । राजनीतिक अस्थिरता र जनदबाबबीच चुनाव नै समाधान भन्ने साझा नारा प्रमुख दलहरूको मुखमा छ, तर पुस्तान्तरण र प्रणालीगत सुधारका प्रश्न अझै अनुत्तरित छन् । जेनजी आन्दोलनको उत्कर्षसँगै गठबन्धन सरकार ढलेपछि पुराना शक्ति समीकरणले नयाँ बाटो खोज्न थालेका छन् ।
राजनीतिक विश्लेष्कहरूका अनुसार आन्दोलनले प्रणाली नै हल्लायो तर दलहरू पुनर्संरचनाको होइन, पुनस्र्थापनाको दिशातिर लागेका छन् । एमालेमा केपी शर्मा ओलीले अरुलाई नेतृत्वको पालो दिने न संकेत गरेका छन्, न त पछिल्ला पुस्ताले उनको बलियो विकल्प अघि सार्न सकेको छ । उस्तै अवस्था कांग्रेसको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस्तान्तरणको सवालमा बोलिरहँदा अन्य नेता सभापति शेरबहादुर देउवालाई छाड्न तयार देखिएका छैनन् । न जसपामा उपेन्द्र यादवको विकल्पको आवाज सुनिएको छ न त रास्वपामा रवि लामिछानेको नेतृत्वको कार्यभार अरुले पनि पाउनुपर्छ भनने आवाज बलियो छ । दलहरूका शीर्ष तह नेतृत्व छाड्न तयार छैन, पछिल्ला पुस्ता उनीहरूलाई समयको माग सम्झाउन सकेका देखिदैनन् ।
निर्वाचन नै उपाय
कांग्रेस र एमालेका नेताहरूले अन्तरिम सरकारप्रति संयमित समर्थन जनाउँदै आगामी प्रतिनिधिसभा निर्वाचनमा जान तयार रहेको संकेत दिएका छन् । उनीहरूका अनुसार चुनावले नयाँ वैधता दिने र आन्दोलनपछि सिर्जित सत्ता खालीपन पुरा गर्नेछ । तर दलभित्र पुस्तान्तरणबारे ठोस निर्णय छैन । नयाँ पुस्ताको नेतृत्व माग बढ्दो छ, तर पार्टीहरूका पुराना पुस्ता नै अझै शक्तिशाली छन् । उनीहरू नेतृत्व छाड्नै चाहदैनन् । पुस्तान्तरणको आवाज पार्टीभित्र कमजोर देखिएको छ ।
संविधान पुनर्लेखन र नयाँ कार्यकारी संरचना
जेनजी आन्दोलनले भ्रष्टाचार निर्मुल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवाज उठाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन चाहिने अवस्था छैन । तर, प्रत्यक्ष निर्वाचितका लागि संविधानमै नयाँ व्यवस्था हुनुपर्छ । यो हठात् उठेको मागको सम्बोधन संविधानका अहिलेको व्यवस्थाले पुरा गर्न सक्दैन ।
लहानमा सोमबार आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको स्थायित्वका लागि संविधान पुनर्लेखनको माग गरेका छन् । ‘अहिलेको प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको छ । करोडौं खर्च गरेर जित्ने उम्मेदवार जनताको सेवा होइन, लगानी असुल्न दौडिन्छ,’ उनले भने ।
यादवले जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कार्यकारी प्रणाली ल्याउनु पर्ने धारणा राखे । उनले भने ‘भ्रष्टाचारको मूल नास गर्न पूर्ण समानुपातिक प्रणाली आवश्यक छ ।’
‘चुनावबाटै उपलब्धि जोगिन्छ’
जेनजी आन्दोलनपछि छिटो र अत्यधिक जनसरोकारका गतिविधिमा आफूलाई गम्भीर रहेको देखाउने हतारमा रहेको पार्टी हो माओवादी केन्द्र। जबकि यो पार्टीको न अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दरिलो विकल्प खोजेको देखिएको छ न त प्रचण्डले अरुलाई बराबरीको मौका दिएका छन् । पेरिसडाँडास्थित मुख्यालयमा सोमबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकले फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।
हतार–हतार पदीय संरचना भत्काइएको घोषणा गरे पनि शक्तिमा प्रचण्ड नै छन् । उनले सोमबार सञ्चारकर्मीसँग भने ‘चुनाव सम्पन्न गरेर मात्र संविधान, गणतन्त्र र राजनीतिक उपलब्धि जोगाउन सकिन्छ ।’
माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गरेर नेतृत्व पुस्तान्तरणबारे छलफल गर्ने पनि जनाएको छ । दलभित्र नयाँ पुस्ता अघि भन्ने अभियान सुरु भए पनि निर्णायक निर्णय भने बाँकी छ ।
निर्वाचन आयोगले तोक्यो चुनावी कार्यतालिका
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै फागुन २१ गते मतदान मिति तोकेको छ । कार्यतालिकाअनुसार मंसिर १ देखि १० गतेभित्र दल दर्ता, मंसिर १५ मा समानुपातिक प्रणालीका लागि अधिकृत कार्यालय स्थापना, पुस १८ र १९ गते बन्दसूची पेस, माघ २ मा निर्वाचन अधिकृत कार्यालय सञ्चालन, फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार अवधि र फागुन २१ गते मतदानको मिति तोकिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव निष्पक्ष र व्यवस्थित गर्न आयोगले राजनीतिक दलहरूसँग निरन्तर परामर्श गर्नेछ । सरकारको कार्य सम्पादन संयमित प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनको दुई हप्तामै चुनावी तयारीलाई प्राथमिकता दिएकी छन् । उनले हालसम्म कुनै राजनीतिक विवादमा प्रत्यक्ष संलग्न नहुँदै संविधानसम्मत निर्वाचन सुनिश्चित गर्ने कार्यमा जोड दिइरहेकी छन् ।
वर्षा र बाढीको प्राकृतिक विपत्तिबीच ओलीको कार्यकालका तुलनामा जनतालाई मुलुकमा सरकार समसामयिक समस्याप्रति गम्भभीर रहेको देखाउन सफल कार्कीले दलहरूलाई पाठ सिकाएकी छन् । यो विपत्तिमा दलहरू जनताको सहयोगका लागि बाहिर निस्कन नसक्नुले बहुदलीय व्यवस्थाप्रति वितृष्णा अझ बढाउने जोखिम उच्च देखिएको छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा कार्की सरकारको मुख्य परीक्षा अब फागुन २१ को मतदान नै हो । राजनीतिक वृत्तमा साझा निष्कर्ष एकै छ - स्थायित्वका लागि चुनाव अपरिहार्य छ ।
तर प्रश्न यतिमै बाँकी छ – के आगामी फागुन २१ को निर्वाचनले नयाँ पुस्तालाई अगाडि ल्याउनेछ, वा पुरानै हातहरूले फेरि नतिजा लेख्नेछन् ? जेनजी आन्दोलनको प्रतिध्वनि अझै सडकमा सुन्न सकिन्छ, जबकि प्रमुख दलका शीर्ष तहमा सिंहदरबार पुनःप्रवेशको रणनीति पुरानै देखिएको छ ।
माओवादी तयार, एमाले शंकामा र कांग्रेस अनिर्णीत
निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको यो तयारीबीच निर्वाचनका सबै प्रतिस्पर्धी भने फरक–फरक मतमा रहेका छन् ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको हो । विज्ञप्तिमा निर्वाचनका लागि राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ ।
आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ । कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म राखिएको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा भएको सचिवालय बैठकपछि सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
’माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ’ ‘प्रचण्ड’ले बताए ।
माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको उल्लेख गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भन्ने केन्द्रीय समिति बैठकबाट निर्धारण गरिसकेको पनि उनले स्पष्ट गरे ।
एमाले शंकामा
नेपाल कम्युनिष्ट पार्टी एमालेले भने समयमा गर्ने वा हुने विषयमा नै शंका व्यक्त गरेको छ। एमाले उप महासचिव प्रदीप ज्ञवालीले आयोगद्वारा जारी विज्ञप्ति निर्वाचन घोषणा पछि गरिने नियमित काम भए पनि निर्वाचनका लागि राजनीतिक वातावरण बन्न बाँकी रहेको बताए ।
उनले सरकार बनिसकेपछि दलहरूसँग सम्वाद र सम्पर्क समेत नभएको अवस्था एकातिर छ भने गत २४ भदौमा गरिएको तोडफोड एवं आगजनीमा संलग्न समूहहरू सक्रिय रहनु र कारबाही नगरिनुले उमेद्वार र मतदाताको सुरक्षामा शंकाको अबस्था रहेको उल्लेख गरे ।
एमाले नेता तथा पूर्वमन्त्री ज्ञवालीले प्रतिनिधिसभा विघटन र निर्वाचनको घोषणाको आशय मै शंकामा रहेको मात्र होइन मुख्यदलका मुख्य नेताहरू माथि अनेक आक्षेप लगाएर राहदानी रोक्का गर्ने सम्पत्ति शुद्धिकरण र गिरफ्तारिका हल्ला चलाएर वातावरण धमिल्याउने काम भइरहेको प्रति असन्तुष्टि व्यक्त गरे ।
यसका साथै प्रतिनिधिसभा विघटन संवैधानिक नभएको प्रश्न आफैंमा गम्भीर भएको बताउदै त्यसको समेत छिनोफानो हुनुपर्ने ज्ञवालीले स्पष्ट गरे । उसो भए तपाइँहरू निर्वाचनमा भाग्न लाग्नु भएको नै हो त ? भन्ने प्रश्नमा उनले भने – हामी निर्वाचनबाट भाग्दैनौं र भाग्ने कुरा पनि होइन । तर हाम्रो पार्टीले उठाएका प्रश्नको स्पष्ट जवाफ सरकार र सम्बन्धित निकायबाट नआएसम्म कुनै पनि दलका लागि निर्वाचनमा जान सहज हुने छैन’।
अनिर्णित कांग्रेस
नेपाली कांग्रेस अहिलेसम्म बिचाराधिन अवस्थामा रहेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले पार्टीको निर्णयका लागि केही दिन पर्खिन आग्रह गरे । कांग्रेसका अर्का नेता शेखर कोइरालाले भने ’निर्वाचनका बारेमा असोज २७ पछि मात्र सम्पर्क गर्नुहोला। अहिले हामी छलफलमा नै छौं’। रास्वपा नेता मनीष झाले आफ्नो पार्टी बिना शर्त निर्वाचनका लागि तयार रहेको बताएका छन् । त्यसका लागि सरकारले सुरक्षाको वातावरण र निर्वाचन निष्पक्ष हुने कुराको सुनिश्चितता गर्नेमा आफू विश्वस्त रहेको बताए ।
यसैगरी राप्रपाका नेता मोहन श्रेष्ठले ताजा जनादेशका लागि प्रतिनिधिसभाबाट विघटन पहिले नै राजिनामा गरेको स्मरण गराउँदै आफ्नो पार्टी निर्वाचनका लागि जान तयार रहेको बताए । यसका लागि सरकारका तर्फबाट निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बाँकी कुरा छिटै बस्ने पार्टीको बैठकले निर्धारण गर्नेछ ।’
प्रमुख दलहरूले निर्वाचन आयोगसँग सम्पर्कका लागि ‘फोकल पर्सन’ भने तोकेर निर्वाचनबाट नभाग्ने संकेत दिएका छन् । यसरी तोकिएका नेताहरू कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट रमेश बडाल र माओवादी केन्द्रबाट मुक्ति प्रधान, रास्वपाबाट विपिन आचार्य छन् ।