नेभिगेशन
विश्व

फ्रान्समा सत्ता संकट गहिरिदै, म्याक्रोनको राजीनामा माग

एजेन्सी – फ्रान्सको राजनीतिमा फेरि एकपटक संकट उत्पन्न भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले भर्खरै नियुक्त गरेका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मन्त्रिपरिषद्को घोषणा गरेको १२ घण्टामा नै राजीनामा दिएका छन् । यस घटनाले फ्रान्सको सत्ता सन्तुलनमा तरंग मात्रै ल्याएको छैन, राष्ट्रपति म्याक्रोनको नेतृत्वमाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

प्रधानमन्त्रीको यति छोटो कार्यकाल फ्रान्सको इतिहासमै दुर्लभ मात्र होइन, वर्तमान राजनीतिक संकटको कति गहिरो छ भन्ने उदाहरणसमेत देखाएको छ ।

आश्चर्यजनक राजीनामा 

सेबास्टियन लेकोर्नु राष्ट्रपति म्याक्रोनका विश्वासपात्र मानिन्छन् । उनले सेप्टेम्बर ९ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए र अक्टोबर ६ मा राजीनामा दिए ।

उनले आइतबार साँझ मन्त्रिपरिषद्को नयाँ स्वरूप सार्वजनिक गरेका थिए । तर, त्यो घोषणापछि सत्तारूढ गठबन्धनभित्रै असन्तोष चुलियो । विशेषगरी पूर्व अर्थमन्त्री ब्रुनो ल मायेरलाई रक्षामन्त्रीमा नियुक्त गरिएको विषय विवादको केन्द्र बन्यो ।

यस नियुक्तिबारे आफ्ना गठबन्धन साझेदारहरूलाई जानकारी नदिएको आरोप प्रधानमन्त्रीमाथि लाग्यो । लेस रिपब्लिकन्स पार्टीका प्रभावशाली नेता तथा गृहमन्त्री ब्रुनो रेटायोले यो निर्णयप्रति आपत्ति जनाउँदै यसलाई ‘विश्वासको संकट’को रूपमा चित्रित गरे ।

राजीनामापछि लेकोर्नुको मन्त्रिपरिषद्को ढाँचा राजनीतिक दलहरूलाई सन्तुष्ट पार्न असफल भएको पस्ट भयो । १२ घण्टाभित्रै उनको राजीनामा आउनु यही असन्तुष्टिको परिणाम हो ।

चौथो प्रधानमन्त्री पनि असफल, स्थायित्वको संकट 

सेबास्टियन लेकोर्नु राष्ट्रपति म्याक्रोनको दोस्रो कार्यकालको दौरान चौथो प्रधानमन्त्री थिए । यसअघि फ्राँस्वा बायरूले संसद्बाट विश्वासको मत नपाएपछि पदबाट राजीनामा दिएका थिए ।

फ्रान्सको हालको संसद् तीन भागमा बाँडिएको छः वामपन्थी मोर्चा, दक्षिणपन्थी पार्टी र म्याक्रोनको मध्यमपन्थी–दक्षिणपन्थी गठबन्धन । कुनै पनि दल वा गठबन्धनसँग स्पष्ट बहुमत छैन । यस्तो विभाजित संसद्ले नीति निर्माण र बजेट पारित गर्ने प्रक्रिया अत्यन्तै कठिन बन्न पुगेको छ ।

लेकोर्नुलाई बजेट घाटा नियन्त्रण, सरकारी खर्च कटौती र कर प्रणाली सुधार गर्ने जिम्मा दिइएको थियो । तर, संसद्मा आवश्यक समर्थन जुटाउन असफल भएपछि उनी पनि आफ्ना पूर्ववर्तीहरूको बाटो लाग्न बाध्य भए ।

संसद् भंग र राष्ट्रपति राजीनामाको माग 

लेकोर्नुको राजीनामाले विपक्षी दलहरूलाई म्याक्रोन सरकारविरुद्ध प्रहार गर्ने  मौका दिएको छ । दक्षिणपन्थी नेतृ मरिन ले पेनले राष्ट्रपति म्याक्रोनलाई ‘राजीनामा दिनु नै बुद्धिमानी’ भएको टिप्पणी गरेकी छन् । उनले स्थायित्व ल्याउन नयाँ संसदीय चुनावको माग गरिन् । 

उनको पार्टी ‘नेशनल र्‍याली’ अहिले संसद्को सबैभन्दा ठूलो दल हो । पछिल्ला सर्वेक्षणहरूले आगामी चुनावमा उनीहरूको अग्रता देखाएका छन् । यस्तै वामपन्थी गठबन्धन ‘फ्रान्स अनबोड’ ले पनि राष्ट्रपति म्याक्रोनको राजीनामा माग गरेको छ ।

म्याक्रोनका तीन विकल्पः तीनै चुनौतीपूर्ण 

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले राष्ट्रपति म्याक्रोन तीन विकल्पबीच छनोट गर्न बाध्य छन्, तर तीमध्ये कुनै पनि सजिलो छैन ।

नयाँ प्रधानमन्त्रीको नियुक्ति 

सबैभन्दा पहिला म्याक्रोनले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ । तर, अहिलेको विभाजित संसद्मा यस्तो नेता छान्न गाह्रो छ, जसले सबैपक्षलाई सन्तुष्ट पार्न सकोस् । यदि उनले वामपन्थी दलबाट नेता नियुक्त गरे भने आफ्ना सुधारवादी नीतिहरू (जस्तै पेन्सन सुधार, व्यवसाय मैत्री कर प्रणाली) खतरामा पर्न सक्छ । 

यदि उनले दक्षिणपन्थी नेतालाई अघि सारे, वामपन्थीहरू बटारिन सक्छन् । केही विशेषज्ञहरूले म्याक्रोनलाई ‘टेक्नोक्रेट’ प्रधानमन्त्री चयन गर्न सुझाव दिएका छन् । त्यसबाट राजनीतिक झगडाभन्दा माथि उठेर काम गर्न सकोस् ।

संसद भंग गरी नयाँ चुनाव 

संविधान अनुसार राष्ट्रपतिले संसद् भंग गर्न सक्छन् र ४० दिनभित्र नयाँ चुनाव हुनसक्छ । तर यो निर्णय राजनीतिक रूपमा जोखिमपूर्ण छ ।

यदि चुनावमा म्याक्रोनको गठबन्धनले फेरि स्पष्ट बहुमत ल्याउन सकेन भने समस्या झनै जटिल हुन्छ । अझ झन् मरीन ले पेनको पार्टी सत्तामा आउनसक्ने खतरा म्याक्रोनका लागि सबैभन्दा ठूलो हार हुनेछ ।

स्वयं राष्ट्रपति म्याक्रोनको राजीनामा 

कानूनी रूपमा बाध्यता नभए पनि, म्याक्रोनमाथि राजीनामा दिन दिनानुदिन राजनीतिक दबाब बढ्दो छ । तर उनले सन् २०२७ को राष्ट्रपतीय चुनावसम्म पद नछोड्ने अडान लिइसकेका छन् । त्यसैले यो विकल्प सम्भावित देखिँदैन ।

सत्तापक्षको विश्वासको संकट

प्रधानमन्त्रीको राजीनामा केवल विपक्षी आलोचना मात्र होइन, सत्तारूढ खेमाभित्रैको संकटको संकेत हो । ब्रुनो ल मायेरजस्ता पुराना अनुहारहरूलाई फेरि मन्त्री बनाएर ‘नयाँ सुरुवात’ को दाबी गर्नु आफैँमा विरोधाभासी देखिएको थियो । 

लेस रिपब्लिकन्स पार्टीका नेताहरूले मन्त्रिपरिषद्मा वास्तविक परिवर्तन नभएको आरोप लगाएका छन् । गठबन्धनभित्रको असन्तुष्टि बढ्दै जाँदा लेकोर्नुको सरकार डगमगायो । जसको परिणति उनको पदत्यागमा देखियो ।

आगामी चुनावः स्थायित्व कि चरम राजनीतिक ध्रुवीकरण ?

यदि संसद् भंग भयो र चुनाव भयो भने, त्यसले फ्रान्सको राजनीतिक संरचना नै फेरबदल गर्न सक्छ । फ्रान्सको दुई चरणीय निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले पहिलो चरणमा स्पष्ट बहुमत ल्याउन मुस्किल हुन्छ । 

तर, पछिल्लो समय मरिन ले पेनको पार्टीले सबैभन्दा बढी सिट जित्ने अनुमान गरिएको छ । यसले चरम दक्षिणपन्थी शासनको सम्भावनालाई बलियो बनाउँछ । जसलाई लिएर युरोपेली संघसमेत चिन्तित देखिन्छ ।

म्याक्रोनको नेतृत्व संकटको निर्णायक मोडमा

प्रधानमन्त्री लेकोर्नुको इतिहासमै सबैभन्दा छोटो कार्यकाल राजनीतिक असफलता मात्र होइन, म्याक्रोन नेतृत्वमा गहिरिंदो अविश्वास र अस्थिरताको पनि संकेत हो । फ्रान्स अहिले यस्तो राजनीतिक मोडमा उभिएको कि कुनै पनि निर्णयले देशलाई चरम ध्रुवीकरणमा धकेल्न सक्छ । म्याक्रोनको आगामी निर्णय (चाहे त्यो नयाँ प्रधानमन्त्री चयन होस् वा नयाँ चुनावको घोषणा) फ्रान्सको राजनीतिक इतिहासमा निर्णायक बन्न सक्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्