नेभिगेशन
नेपाल

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण

राजनीतिक अस्थिरता र अर्थतन्त्रमा देखिएको सुस्तताले नेपालको आर्थिक वृद्धिदरमा संकुचन ल्याउने विश्व बैंकको विश्लेषण

काठमाडौं, २१ असोज - बढ्दो राजनीतिक अस्थिरता र अर्थतन्त्रमा देखिएको सुस्तताका कारण नेपालको आर्थिक वृद्धिदर निकै कम हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

साउथ एसिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वर्ष २०२५-२६मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । जबकी गत अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरेको थियो ।

खासगरी जेनजी आन्दोलनबाट सार्वजनिक र निजी क्षेत्रका भौतिक संरचनामा ठूलो क्षति पुगेको, होटल उद्योगमा भएको आगजनीबाट पर्यटकले बुकिङ क्यान्सिल गरेको र बीमा उद्योगमाथि ठूलो भार परेका कारण सेवा क्षेत्रमाथि दबाब परेको छ ।

जसले नेपालको अर्थतन्त्रमा असर गर्ने विश्व बैंकले जनाएको छ । आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकाले आगामी वर्षपछि मात्रै आर्थिक विकासले गति लिने अनुमान विश्व बैंकको छ ।

उत्पादन र निर्माण सम्बन्धी गतिविधिमा अवरोध आउन सक्ने, मधेशमा ढिलो वर्षा भएको र उत्पादन लिने बेला धेरै वर्षा भई धान बालिमा असर गरेका कारण धान कृषि क्षेत्र पनि प्रभावित भएको विश्व बैंकले जनाएको छ । यस्तै, लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा लगानी बढ्न सकेका छैनन् ।

विश्व बैंकले नेपालका लागि अहिले गरेको आर्थिक वृद्धिदरको प्रक्षेपण दक्षिण एशियाका अन्य देशको तुलनमा सबैभन्दा न्यून हो । विश्व बैंकले सन् २०२७ मा भने आर्थिक वृद्धिदर बढेर ४.७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले शासन प्रणाली प्रतिको असन्तुष्टि र अवसरको अभावका कारण आर्थिक वृद्धिदरमा कमी आउने निष्कर्ष निकालेको हो । बढ्दै गएको भष्ट्राचार, व्यवसायिक वातावरण बन्न नसक्नु, विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, समाजिक अशान्ति र कृत्रिम बुद्धिमता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतिलाई पनि आर्थिक वृद्धिमा अवरोध हुनुको प्रमुख कारण मानेको छ । 

सन् २०२६ मा दक्षिण एशियाका अन्य देशमा भुटानको आर्थिक वृद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस्तै भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, माल्दिभ्सको ३.९ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत रहने प्रक्षेपण छ । यस आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ । 

विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले जारी गरेको प्रतिवेदनमा भनेका छन, ‘दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमलाई समयमै सम्बोधन गर्नुपर्छ, एआईको फाइदा लिन र व्यापारका अवरोध घटाइ उत्पादकत्व बढाउनुपर्छ, लगानी ल्याउनुपर्छ र नयाँ रोजगारी सिर्जना गर्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्