नेभिगेशन
नेपाल

झ्याप झ्याप बत्ती जाने समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं (संवाददाता)– ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले झ्याप झ्याप बत्ती जाने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । 

घिसिङले प्राधिकरणको स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर–एलडिसी) पुगेर वर्षा र बाढीका कारण विद्युतीय संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति अवरुद्ध भएको गुनासो बढेपछि समस्या समाधान गरी आपूर्ति नियमित गर्न निर्देशन दिएका हुन् ।

घिसिङले बाढी, पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् आपूर्ति सबै स्थानमा सुचारु गरी नागरिकको गुनासो सम्बोधनमा ध्यान दिन कार्यकारी निर्देशक मनोज सिलवाल र प्रणाली सञ्चालन विभाग प्रमुख चन्दनकुमार घोषलाई निर्देशन दिएका हुन् ।

घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजना लगायतका विषयमा जानकारी लिए । 

जवाफमा कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्‍याएका क्षतिग्रस्त विद्युतीय संरचना मर्मत गरी विद्युत आपूर्ति नियमित गराउने प्राविधिक टोली तयारी अवस्थामा राखेर काम गरिरहेको बताए ।

देशका विभिन्न ठाउँबाट छिनछिनमा विद्युत आपूर्ति अवरुद्ध भएको गुनासो आइरहेको भन्दै उनले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा कार्यकारी निर्देशक सिलवाल तथा घोषसँग छलफल पनि गरे ।

उनले जलविद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन एवं विद्युत प्रवाहका लागि महत्त्वपूर्ण मानिएका २२० केभी मस्र्याङ्दी करिडोर, ४०० केभी हेटौंडा—ढल्केबर प्रसारण निर्माणमा विशेष ध्यान दिन पनि सिलवालको ध्यानाकर्षण गराए । 

उनले आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह समेत गरे । मन्त्री घिसिङसँगको भेटमा कार्यकारी निर्देशक सिलवाल र केन्द्र प्रमुख घोषले देशभरको विद्युत उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्थाबारे जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्