काठमाडौं, २१ असोज - दशैं बिदापछि मंगलबार पहिलो पटक खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार मापक नेप्से परिसूचक ५८.५५ अंकले घटेर २,६०४.९६ विन्दुमा झरेको छ । चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड तीन लाख ४५ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५२ कम्पनीमध्ये २३५ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटे पनि १६ कम्पनीका शेयरधनीले भने कमाएका छन् । एभरेष्ट बैंकको शेयरमूल्य स्थिर रहेको छ ।
समूहगत सूचकहरू पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.७० प्रतिशत घटेर ४५४.६२ विन्दुमा झरेको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक २.१२ प्रतिशत घटेर १७९.०७ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.८५ प्रतिशत घटेर १५४.६९ विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ वटै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ४.८३ प्रतिशत घटेको छ । यो समूहमा रहेका आठवटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
नेपाल रिइन्स्योरेन्स ८.५७ प्रतिशत घटेको छ । अन्य समूहपछि सबैभन्दा धेरै जलविद्युत् समूह २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७२, विकास बैंक २.३८ र निर्जीवन बीमा २.०४ प्रतिशत घटेको छ ।
त्यसपछि, लगानी समूह १.९१, लघुवित्त १.८७, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५ बैंकिङ १.३२, व्यापार १.१७, फाइनान्स १.१२ र म्युचुअल फण्ड ०.८८ प्रतिशत घटेको छ । यसदिन ‘सेन्चुरी डिबेन्चर २०८८’ का इकाइधनीले सर्वाधिक १० प्रतिशत कमाएका छन् ।
त्यसपछि ‘एनआईसी एशिया ऋणपत्र २०८८’का इकाइधनीले ९.११ प्रतिशत र ‘१०.३०प्रतिशत स्टान्डर्ड चार्टर्ड बैंक लि. डिबेन्चर’का इकाइधनीले ९.०६ प्रतिशत कमाएका छन् । सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर छन् ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत घटेको छ । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७१ रुपैयाँ ४० पैसा घटेर ६४३ रुपैयाँ ५० पैसामा झरेको छ । भुगोल इनर्जीसँगै सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी, माथिल्लो मैलुङखोला जलविद्युत, पञ्चकन्या माई हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावर छन् ।
युनियन हाइड्रोपावरको शेयर कारोबार सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको १९ करोड ४५ लाख, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख, शिवम् सिमेन्ट्सको १२ करोड २३ लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९९ लाख रुपैयाँको शेयरकारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति मंगलबार मात्रै ९८ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । बजार पुँजीकरण ४३ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण ३२ अर्ब रुपैयाँ घटेर १४ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ ।