नेभिगेशन
नेपाल

जेनजीका मागमा सरकार प्रतिबद्ध

काठमाडौं, २२ असोज - प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली राजदूत, नियोग प्रमुखहरूलाई भर्चुअल सम्बोधन गर्दै जेनजी पुस्ताका माग पूरा गर्न लागिपरेको बताएकी छन् । ‘जेनजी पुस्ताका मागहरू राजनीतिक, आर्थिक लगायत समग्र शासकीय प्रबन्धसँग सम्बन्धित छन् र ती दूरगामी प्रकृतिका समेत रहेका छन्,’ उनले भनेकी छन्, ‘ती मागहरू पूरा गर्ने अत्यन्त ऐतिहासिक र अभूतपूर्व अवसर सृजना भएको छ ।’

गत २०८२ भदौ २७ गते आफ्नो नेतृत्वमा गठित अन्तरिम सरकारको प्रमुख लक्ष्य सुशासनका स्तम्भलाई सुदृढ पार्नु र आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने भएको बताएकी छन् । उनले नेपाल अहिले एक निर्णायक राजनीतिक संक्रमणको मोडमा रहेको स्मरण गराउँदै लोकतान्त्रिक मार्गलाई मजबुत बनाउने आवश्यकता औंल्याएकी छन् ।

उनले फागुन २१ मा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा गर्नेमा सरकार दृढ र प्रतिबद्ध रहेको बताएकी छन् । विदेशमा अस्थायी रुपमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा मतदान गर्न पाउने विषयमा गृहकार्य भइरहेको बताइन् । कसरी निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्ने बारेमा सूचना संकलन तथा सुझाव दिन पनि आग्रह गरेकी छन् । 

सरकारले राहत, पुनर्निर्माण, आर्थिक पुनरुत्थानका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न आग्रह गरेकी छन् । जेनजी प्रदर्शनपछि नेपालको पर्यटन क्षेत्रमा आघात परेको बताउँदै पर्यटनको उच्च सिजनको महिना अक्टोबरमा पूरा क्षमताको ७० प्रतिशत हाराहारी हुनुपर्ने होटल बुकिङ हाल ३० प्रतिशतको हाराहारीमा झरेको छ । प्रधानमन्त्री कार्कीले नेपालमा परिस्थिति सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानीलगायतका आर्थिक गतिविधिहरू पूर्ववत् रूपमा सञ्चालनमा आइसकेको दाबी गरेकी छिन् । 

‘आन्दोलनका क्रममा कुनै पनि विदेशी पर्यटकलाई लक्षित नगरिएको र बरु उनीहरूलाई सहयोग गरिएको दृष्टान्तहरूबाट असहज परिस्थितिमा पनि अतिथि देवो भवःको विशिष्ट नेपाली संस्कृति प्रदर्शन भएको विषय पनि स्मरणीय छ’ प्रधानमन्त्री कार्कीले भनेकी छन् । लाखौं नेपाली नागरिक कामका सिलसिलामा विदेशमा गएकालाई आवश्यक सेवा प्रवाह प्रभावकारी बनाउनु र उनीहरूको सम्मान, मर्यादा र हकहितको सुरक्षा गर्नुपर्ने बताएकी छन् । 

‘हाल सयौं नेपालीहरू विदेशी जेलमा छन, सयौंको ज्यान गुमेको अवस्था छ । क्षतिपूर्तिका लागि परिवारहरू भौतारिरहेको दुःखद अवस्था रहेको छ’, उनले भनिन्, ‘जेनजी आन्दोलनपश्चात कुशल, तटस्थ, पारदर्शी, उत्तरदायी, निष्पक्ष, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादनमा सबैको अपेक्षा बढेको छ ।’

विश्व राजनीतिक, आर्थिक अस्थिरता र सम्भावनाको संगम बनेकाले एकातिर, विभिन्न खाले भूराजनीतिक प्रतिस्पर्धा र द्वन्द्वले अनिश्चितता सिर्जना गरिरहेको उल्लेख गरेकी छन् । सबै देश विकास, प्रविधि, क्षमता र साधनस्रोतमा समान नभएकाले चुनौतीहरू मात्रै नभएर नेपालजस्ता देशलाई नयाँ अवसर देखिएको दाबी गरेकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्