नेभिगेशन
प्रदेश

भोटेकोशी जलविद्युत्लाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं (संवाददाता)–गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत् आयोजनाहरूका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनावारे जानकारी गराएका थिए । अध्यक्ष गणेश कार्कीले जेनजी युवाहरूको नाममा जलविद्युत बयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशिघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए ।

इप्पानका कुरा सुने लगत्तै गृहमन्त्री अर्याललले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलीफोन गरी भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा जेन–जी युवाहरूलाई १० प्रतिशत निशुल्क शेयर दिनुपर्ने माग राखी भदौ २५ गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराएका छन् ।

पूर्णक्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा आयोजनाले दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको थियो । पछिल्लो २८ दिनदेखि आयोजना बन्द हुँदा करिब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको आयोजना प्रवद्र्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।

जेनजी युवाहरूले १० प्रतिशत निशुल्क शेयर नदिएसम्म भोटेकोशीबाट विद्युत् उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । जेनजीको नाममा २८ दिनसम्म आयोजना बन्द हुँदा पनि आयोजना सञ्चालनमा ल्याउन नसक्दा यहि मौकामा स्थानीयहरूले सिन्धुपाल्चोकका अन्य जलविद्युत आयोजनामा पनि १० प्रतिशत निशुल्क शेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन् ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकाले राज्यले जस्तोसुकै परिस्थितीमा पनि सुरक्षा दिनुपर्ने बताए । माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले जलविद्युत् उत्पादकको मनोबल गिराउने काम भएकोले यस्तो वातावरणमा कुनै पनि प्रवद्र्धकहरूले थप लगानी गर्न नसक्ने बताए ।

जेनजी युवाहरूले सञ्चालनमा आइसकेको २२.२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले १० प्रतिशत निःशुल्क शेयर नदिए यहि असोज ३० गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराउने धम्की पनि दिएका छन् । अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा पनि १० प्रतिशत निःशुल्क शेयर माग गरिएको छ ।

त्यस्तै, अन्य निर्माणाधीन जलविद्युत आयोजनाहरूमा २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दुधखोला लगायतका आयोजनामा पनि १० प्रतिशत निःशुल्क शेयर माग्दै जेन–जी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला