काठमाडौं, २२ असोज - शेयरबजारमा बुधबार पनि घट्ने क्रमले निरन्तरता पाएको छ । कारोबार मापक नेप्से परिसूचक ४५.३६ अंकले घटेर २,५५९.५९ विन्दुमा झरेको छ । सूचक घटे पनि कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ । बुधबार कुल पाँच अर्ब ७६ करोड २७ लाख एक हजार रुपैयाँ बराबरको एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर किनबेच भएको छ । मंगलबार चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका २५१ कम्पनीमध्ये २३२ वटाको शेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । यसदिन १८ कम्पनीका शेयरधनीले भने कमाएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने स्थिर रहेको छ । मूल्य बढेका १८ कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ६.०३ प्रतिशत बढेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भई ब्याजदर घट्दै गए पनि जेनजी आन्दोलन, राजनीतिक अस्थिरता हुनु र लगानीको वातावरण बन्न नसक्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । जसले वास्तविक क्षेत्रमा मात्र नभइ शेयरबजारमा समेत लगानी आउन सकेको छैन ।
अन्तरिम सरकारले शेयर बजार सुधारका लागि प्रयास गरेपनि बजारमा लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन । त्यसैले बजार दबाबमा देखिएको छ । बुधबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.७९ प्रतिशत घटेर ४४६.४७ विन्दुमा झरेको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक १.९० प्रतिशत घटेर १७५.६५ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.९६ प्रतिशत घटेर १५१.६५ विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ वटै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.०९ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ३.०३, जलविद्युत समूह २.३४, विकास बैंक २.२८, निर्जीवन बीमा २.०६, लगानी २.०२ प्रतिशत घटेको छ । यस्तै, लघुवित्त समूह १.८९ प्रतिशत, जीवन बीमा १.६४, बैंकिङ १.४८, अन्य १.२४, उत्पादन तथा प्रशोधन १.०६, म्युच्युअल फण्ड ०.८९ र व्यापार ०.४३ प्रतिशत घटेका छन् ।
सबैभन्दा धेरै ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’का इकाइधनीले ७.०९ प्रतिशत कमाएका छन् । त्यसपछि ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’का इकाइधनीले ६.४८ प्रतिशत कमाएका छन् । सर्वाधिक शेयरमूल्य मूल्य बढ्ने पाँच कम्पनीमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, थ्रीस्टार हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।
प्रभु इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ६.१२ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै शेयरमूल्य घट्ने पाँच कम्पनीमा प्रभु इन्स्योरेन्ससँगै मञ्जुश्री फाइनान्स, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सयपत्रि हाइड्रोपावर र सिटी होटल रहेका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरकारोबार सबैभन्दा धेरै २६ करोड १६ लाख रुपैयाँको भएको छ ।
त्यसपछि युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ८० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १७ करोड ७१ लाख रुपैयाँको कारोबार भई सर्वाधिक शेयरकारोबार हुने पाँच कम्पनीमा समावेस छन् ।
बजार निरन्तर घट्दा लगानीकर्ताको सम्पत्ति पनि गुम्दै गएको छ । बुधबार मात्रै लगानीकर्ताले ७६ अर्ब रुपैयाँ गुमाएका छन् । बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि २९ अर्ब रुपैयाँ घटेर १४ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ ।
हट्यो शेयर धितो कर्जाको अधिकतम सीमा
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोडको सीमा हटाएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको व्यक्तिगत तर्फको २५ करोड रुपैयाँको सीमा हटाएको हो ।
यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो । यो व्यवस्था हटाइएपछि शेयर बजारका लगानीकर्तालाई राहत पुग्ने देखिन्छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको र कर्जाको माग बढ्न नसकेपछि केन्द्रीय बैंकले शेयर धितोमा लगाउँदै आएको अधिकतम सीमा खारेज गरेको हो । यो सर्कुलरपछि अब व्यक्तिहरूले पनि बैंक तथा वित्तीय संस्थाबाट आफूलाई आवश्यक पर्ने कर्जा लिन सक्नेछन् ।
यसअघि अर्थ मन्त्रालयले गठन गरेको पूँजीबजार सुधार कार्यदलले शेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो । सोही सुझावको कार्यान्वयनस्वरूप राष्ट्र बैंकले यो व्यवस्था हटाएको हो ।
शेयर लगानीकर्ताको माग अनुसार केन्द्रीय बैंकले संगठित संस्थाको शेयर, डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्थालाई खारेज गरी अब ६ महिनाभन्दा बढी अवधिको लागि लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यस्तै खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था पनि हटाएको छ । यससँगै बैंक तथा वित्तीय संस्थाले यस्तो लगानीको पुरै शेयर बिक्री गर्न पाउनेछन् ।