नेभिगेशन
विश्व

मिस्टर बिन नयाँ अवतारमा

रोवन एट्किन्सन अर्थात् मिस्टर बिन छिटै दर्शक माझ आउने भएका छन् । विश्वभरका दर्शकलाई शारीरिक हाउभाउ र अनुहारको विचित्र भावभंगिमाले हँसाउन सफल बेलायती कलाकार एट्किन्सन एकपटक फेरि नयाँ कमेडी सिरिजमार्फत आउने भएका हुन् । नेटफ्लिक्सले उनको बहुप्रतिक्षित सिरिज ‘म्यान भर्सेस बेबी’को घोषणा गर्दै प्रसारण मिति र पहिलो झलक सार्वजनिक गरेको हो ।

यो सिरिज सन् २०२२ मा आएको सफल सिरिज ‘म्यान भर्सेस बी’को दोस्रो भाग हो, जुन आगामी डिसेम्बर ११ (मंसिर २५) देखि प्रसारणमा आउनेछ । ‘म्यान भर्सेस बी’ मा एउटा मौरीले ट्रेभर बिङले (रोवन एट्किन्सन)को जीवनमा मच्चाएको उथलपुथललाई रमाइलो तरिकाले देखाइएको थियो ।

अब ‘म्यान भर्सेस बेबी’ मा ट्रेभरले एउटा झनै ठूलो र अप्रत्याशित चुनौतीको सामना गर्नुपर्नेछ । क्रिसमसको बेला एउटा लक्जरी पेन्ट हाउसको हेरचाह गर्ने जिम्मा पाएका ट्रेभरको शान्त वातावरण तब भंग हुन्छ, जब उनले त्यहाँ एउटा सानो बच्चाको पनि हेरचाह गर्नुपर्ने हुन्छ ।

एउटा अपरिचित बच्चा र अत्याधुनिक घरको बीचमा फसेका ट्रेभरले सामना गर्ने परिस्थिति नै सिरिजको मुख्य कथा हो । संवादभन्दा पनि परिस्थितिजन्य र शारीरिक कमेडीमा आधारित हुने यो सिरिजले दर्शकलाई हाँसोको भरपुर खुराक दिने अपेक्षा गरिएको छ । नेटफ्लिक्सद्वारा जारी पहिलो तस्बिरमा एट्किन्सनलाई बच्चासँग हैरान भएको तर रमाइलो अवस्थामा देख्न सकिन्छ, जसले सिरिज कस्तो हुनेछ भन्ने संकेत गर्दछ ।

रोवन एट्किन्सनको नाम आउनेबित्तिकै धेरैलाई ‘मिस्टर बिन’ पात्र स्मरण हुन्छ । सन् १९९० को दशकमा सिरिजमार्फत सुरु भएको यो पात्रले बिना कुनै संवाद, केवल आफ्नो शारीरिक अभिनय र बालसुलभ स्वभावले विश्वभरका करोडौँ दर्शकको मन जित्यो । 

मिस्टर बिन एक यस्तो पात्र थियो, जो सामान्यभन्दा सामान्य कामलाई पनि असाधारण रूपमा बिगार्न माहिर थियो । आफ्नो मिनी कार र प्रिय खैरो भालु ‘टेड्डी’ सँगको उनको सम्बन्धले दर्शकलाई सधैं मनोरञ्जन दियो । मिस्टर बिनको सफलताको मुख्य कारण यसको विश्वव्यापी अपील थियो । भाषाको कुनै बन्धन नभएकाले यो पात्र हरेक देश र संस्कृतिका दर्शकले सजिलै बुझ्न र मन पराउन सके ।

‘म्यान भर्सेस बेबी’ मा एट्किन्सनले ट्रेभर बिङलेको भूमिका निर्वाह गरे पनि उनको कमेडी शैलीमा मिस्टर बिनको गहिरो प्रभाव देखिन्छ । कम बोल्ने, तर हाउभाउले नै कथा भन्ने उनको अद्वितीय कला यस सिरिजमा पनि हेर्न पाइनेछ । ६९ वर्षको उमेरमा पनि रोवन एट्किन्सनको कमेडीप्रतिको लगाव र ऊर्जा उस्तै छ । (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्