नेभिगेशन
प्रदेश

बाढीले सडक बगाउँदा राजपुरवासीको जनजीवन कष्टकर

रौतहट, २३ असोज - असोज १८ गतेको अविरल वर्षापछि रौतहटको राजपुर नगरपालिकामा ठूलो क्षति भएको छ । बाढीका कारण राजपुर नगरपालिका वडा नम्बर २ मा दुई वर्षअघि निर्माण सम्पन्न गरिएको मुख्य सडक पूर्ण रूपमा भत्किएको छ ।

फतुवा पुलदेखि दमारचोकसम्मको करिब १ किलोमिटर सडक बाढीले कटान गर्दा अहिले स्थानीयवासीलाई आवतजावतमा ठूलो समस्या परेको छ । नगरपालिकाको साढे ६ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो सडक अहिले काम नलाग्ने अवस्थामा पुगेको राजपुर नगरप्रमुख डा. राजिक आलमले जानकारी दिए ।

उनका अनुसार गत वर्ष पनि सो सडक एक स्थानमा बाढीले क्षति पु¥याएको थियो । यसपालि भने लौकाहा पोखरीको बाँध फुटेर बकैया नदीको बाढी पसेपछि ठूलो क्षति पुगेको हो ।

नगरप्रमुख आलमले भने, ‘हाम्रो स्रोतसाधनले अहिले यो सडक बनाउन सक्दैनौं । त्यसैले प्रदेश र संघ सरकारसँग सहयोग मागेका छौं । सहयोग भयो भने चाँडै सडक सञ्चालनमा ल्याउनेछौं ।’

सडक अवरुद्ध हुँदा सो बाटो हुँदै दैनिक यात्रा गर्ने सयौं सर्वसाधारण मारमा परेका छन् । अब उनीहरूले लामो बाटो घुमेर गन्तव्य पुग्नुपरेको छ । स्थानीयवासीले सडकको छिटो पुनर्निर्माणको माग गरेका छन् ।

सडक मात्रै होइन बाढीले राजपुर नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको बालीनाली पनि नष्ट गरेको छ । नगरप्रमुख आलमका अनुसार वडा नम्बर १, २, ३, ८ र ९ पूर्ण रूपमा प्रभावित भएका छन् भने वडा नम्बर ४, ५, ६ र ७ आंशिक रूपमा प्रभावित छन् । 

करीब दुई हजार पाँच सय घर बाढी र डुबानमा परेका छन् । तीमध्ये दुई सयभन्दा बढी घरमा पूर्ण क्षति भएको बताइएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला