नेभिगेशन
नेपाल

कांग्रेसको बैठकमा देउवा आएनन्

काठमाडौं (संवाददाता)– नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । जेनजी प्रदर्शनपछि जलाइएको सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रहरीले पक्राउ गरेकाहरूलाई गृहमन्त्रीले छोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले अनुसन्धानका लागि छोड्न दबाब दिएपछि आपत्ति जनाएको हो । बिहीबारको बैठकमा पदाधिकारीहरू बोल्ने क्रम नसकिएकाले शुक्रबारका लागि पुनः बैठक बोलाइएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहने भनिए पनि उनी गएनन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरेका थिए । 

सभापति देउवाले सबै एक भएर अगाडि बढ्न पार्टीका नेताहरूलाई आग्रह गरेको सन्देश बैठकमा सुनाइएको थियो । उपसभापति खड्काले देउवाको सन्देश सुनाएका थिए । देउवा दम्पतीलाई भदौ २४ गते उनको निवास बुढानीलकण्ठमा कुटपीट गरिएको थियो । त्यसपछि उनीहरू अस्पताल बसेका थिए । हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 

दुवै हाल कहाँ छन् भन्ने पार्टीका नेताहरूले गोप्य राखेका छन् । बैठकमा पार्टीका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राखे । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका थापाले नै बैठकमा नियमित महाधिवेशनको प्रस्ताव गरेका थिए । अब विशेष महाधिवेशनको अर्थ नभएको बताइएको छ ।

जेनजीको प्रदर्शपछि बसेको कांग्रेस पदाधिकारी बैठकले निर्वाचनमा जाने वा संसद पुनस्र्थापनाको माग अघि सार्ने भन्ने निक्र्यौल गरिसकेको छैन । २०७९ सालमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले के निर्णय गर्छ भन्ने सार्वजनिक चासोको विषय छ । यता एमालेले विघटिन संसदको पुनस्र्थापना हुनुपर्ने माग गरिसकेको छ ।

जेनजी प्रदर्शन अघि कांग्रेस र एमालेको गठबन्धनमा बनेको सरकार एक वर्षमै अकस्मात परिवर्तन भएको हो । कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने भएको छ । बिहीबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम नसकिएकाले पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

‘वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहनेछ । समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ । मंसिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ ।’

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको डा. महतले बताए । अराजकतालाई कारबाही नगर्दा पूँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

पार्टीमा एकता र सहकार्यको आग्रह

नेपाली जनसम्पर्क समिति भारतले नेपाली कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन आग्रह गरेको छ । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीभित्र एकता र सुधारको अभियान सुरु गर्नुपर्ने बताएका छन् । 

‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति अत्यन्त गम्भीर मोडमा पुगेको छ, कांग्रेसले आत्ममूल्यांकन, सुधार र एकता अपरिहार्य रूपमा अंगीकार गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । पाण्डेले गत भदौ २३ र २४ गतेका घटनाक्रमले पार्टीलाई गहिरो पुनरावलोकन गर्न बाध्य बनाएको बताए । 

‘हामीले विगतमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने प्रवृत्ति अपनायौं, जसका कारण पार्टी र शासन दुवै कमजोर बने, अब भ्रष्टाचारमुक्त, पारदर्शी र जनमुखी कांग्रेस निर्माणको बाटोमा अघि बढ्नुपर्छ,’ उनले भने । 

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र त्यसको प्रतिवादमा कांग्रेसले कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा उपस्थित हुनुपर्नेमा उनले जोड दिए । ‘कांग्रेसबाहेक लोकतन्त्र र संसदीय प्रणालीका लागि निरन्तर संघर्ष गरेको अर्को कुनै दल छैन, त्यसैले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी अहिले नेपाली कांग्रेसकै काँधमा आएको छ,’ उनले भने ।

असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई पार्टी एकता र सुधारको दिशामा निर्णायक मोडको रूपमा वर्णन गर्दै उनले बैठकले संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि ठोस निर्णय लिनुपर्ने बताए ।

अध्यक्ष पाण्डेले प्रवासी कांग्रेस कार्यकर्ताहरू र युवाशक्तिले पार्टीप्रति ठूलो अपेक्षा राखेको उल्लेख गर्दै पार्टीभित्र साझा दृष्टिकोण, सहमति र पारदर्शिता कायम गर्दै नयाँ ऊर्जाका साथ अघि बढ्न आह्वान गरेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्