काठमाडौं, २३ असोज - कारोबार खुलेको केही मिनेटमै सकारात्मक सर्किट लागेको शेयरबजार अन्तिम समयमा जम्मा २२.५९ अंकले बढेर २,५८२.१८ विन्दुमा कायम भएको छ । दशैं बिदापछि दुई दिनमा १०४ अंकले ओरालो लागेको नेप्से नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा हटाउने निर्णय गरेपछि बिहीबार बढेको हो । राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको अधिकतम एकल ग्राहक कर्जामा लगाउँदै आएको २५ करोडको सीमा खारेज गरेको छ ।
कर्जाको सीमा हटाएपछि लगानीकर्ताहरू उत्साहित हुँदा बिहीबार बजार खुलेको तीन मिनेटमै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागि २० मिनेटकोलागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजार थप १६ अंकले बढेपछि घट्न शुरु गरेको थियो । कारोबार खुलेको आधा घण्टासम्म तीव्र उतारचढाव भएको बजार त्यसपछि भने सुस्त देखिएको थियो ।
यसदिन कुल ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका २५१ कम्पनीमध्ये २०० वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बाँकीमध्ये ४१ कम्पनीका शेयरधनील गुमाएका छन् भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ फ्लोट सूचक १.०८ प्रतिशत बढेर ४५१.३१ विन्दुमा कायम भएको छ । साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक १.०६ प्रतिशत बढेर १७७.५१ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.११ प्रतिशत बढेर १५३.३४ विन्दुमा कायम भएको छ ।
व्यापारबाहेक सबै सूचीकृत समूह बढेका छन् । व्यापार समूह १.४८ प्रतिशत घटेको छ । सबैभन्दा धेरै लगानी १.६१ प्रतिशत बढेको छ । त्यसपछि जीवन बीमा १.३० प्रतिशत, फाइनान्स १.२३, विकास बैंक १.०८, बैंकिङ १.०७, उत्पादन तथा प्रशोधन १.०३, लघुवित्त ०.९५, जलविद्युत ०.९५, निर्जीवन बीमा ०.९३, होटल तथा पर्यटन ०.९२, अन्य ०.२३ र म्युचुअल फण्ड ०.१७ प्रतिशत बढेको छ ।
बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ । सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीमा एसियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र पिपल्स हाइड्रोपावर कम्पनी छन् ।
सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९.०९ प्रतिशत घटेको छ । सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा थ्रीस्टारसँगै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंक छन् ।
सर्वाधिक शेयर कारोबार शिवम् सिमेन्ट्सको भएको छ । यो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि युनियन हाइड्रोपावरको २७ करोड १२ लाख, हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७ लाख र हिमालयन डिष्टिलरीको शेयर कारोबार १६ करोड ७१ लाख रुपैयाँको भएको छ ।
लगानीकर्ताको सम्पत्ति २८ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ४३ खर्ब १६ अर्ब कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण १६ अर्ब रुपैयाँ बढेर १४ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ ।