दशैंको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका थिए । दशैंको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । 
उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
यस्तै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु तीन करोड २१ लाख ७० हजार १६० व्यापार (ग्रस कलेक्सन) गरेको छ । यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । 
दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।
उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएवापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।
पछिल्ला वर्षमा दशैंमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दशैंमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका थिए । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ । 
यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैँको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजन हुनसकेको छैन । यी सबैको व्यापारलाई दक्षिण भारतीय फिल्म ‘कान्तारा–भाग १’ले थिचेको छ । ऋषभ सेठ्ठीद्वारा लेखन, निर्देशन तथा अभिनय गरिएको यो फिल्म आफ्नो क्षेत्रको लोककथामा आधारित उक्त फिल्मको पहिलो भाग ‘कान्तारा’ सन् २०२२ मा रिलिज भएको थियो । सो फिल्मको बजेट जम्माजम्मी १६ करोड भए पनि संसारभरबाट यसले लगभग चार सय करोडको व्यापार गरेको थियो । 
यसपछि ‘कान्तारा– भाग १’ नेपालमा दशैंको अवसरमा रिलिज गरिएको थियो । यो फिल्मले नेपालमा कति व्यापार गर्यो भन्ने अझै नखुलाइएको भए पनि नेपाली फिल्मको व्यापार खुम्च्याउन ‘कान्तारा–भाग १’ले भूमिका खेलेको छ । यो फिल्मले सबैभन्दा बढी स्क्रिन पाएको छ ।