नेभिगेशन
नेपाल

शेयरबजारमा बढेन लगानीकर्ताको मनोबल

काठमाडौं, २५ असोज - शेयरबजारमा गतसाता तीन दिन कारोबार भयो । जसमध्ये दुई दिन कारोबार मापक नेप्से घट्यो भने एक दिन बढेर बन्द भयो । समग्रमा सातामा ८१.१३ अंकको गिरावट भयो । साताको पहिलो कारोबार मंगलबार भयो । सो दिन नेप्से ५८.५५ अंकले घट्यो, त्यसको भोलिपल्ट बुधबार ४५.३६ अंकको गिरावट भयो । तर बिहीबार नेप्से २२.५९ अंकले बढेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले शेयर धितोको एकल कर्जामा लगाउँदै आएको २५ करोडको सीमा खारेज गरेपछि बिहीबार कारोबार खुल्ने वित्तीकै नेप्से उच्च अंकले बढेको थियो । नेप्सेमा २० मिनेटका लागि सकारात्मक सर्किट पनि लागेको थियो, तर त्यो धेरै समय टिकेन । कारोबार शुरु भएको आधा घण्टामै घट्न थालेको बजार अन्तिमसमयसम्म २२.५९ अंकले मात्रै बढेर बन्द भयो ।

बिहीबारको वृद्धिलाई सकारात्मक रुपमा लिए पनि लगानीकर्तामा अझै कन्फिडेन्स बढ्न नसकेको विश्लेषकहरू बताउँछन् । राजनीतिक अस्थिरता, जेनजी आन्दोलनबाट निजी क्षेत्रमा पुगेको क्षति, बीमा दाबीका कारण निर्जीवन बीमा कम्पनीहरूमाथि परेको आर्थिक भार लगायतका कारण शेयर लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिन्छ ।

यस्तै, लगानीको वातावरण बन्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेको, त्यो पैसा तत्काल बजारमा जाने सम्भावना पनि न्यून भएपछि लगानीकर्ता अहिले लगानी गर्दा फाइदा हुने बारेमा ढुक्क हुन सकेका छैनन् । त्यसैले केन्द्रीय बैंकबाट सकारात्मक नीति आउँदा पनि बजारमा उत्साह देखिन नसकेको विश्लेषकहरूको तर्क छ ।

गतसाता तीन कारोबार दिनमा कुल १५ अर्ब ६६ करोडको शेयर किनबेच भयो । दैनिक औसत कारोबार ५ अर्ब २२ करोड रुपैयाँ बराबर भएको छ । लगानीकर्ताले गतसाता एक खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । दशैं अघि ४४ खर्ब ५२ अर्ब बजार पुँजीकरण कायम भएकोमा गतसाता घटेर ४३ खर्ब १६ अर्ब रुपैयाँमा झरेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ४५ अर्ब रुपैयाँ घटेर १४ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्