इटहरी, २८ साउन । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेल खत्री कारागारको २० फिट अग्लो पर्खाल नाघेर भागेका हुन् ।
कारागार प्रशासनका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । घटनाबारे चौकीदारबाट सूचना प्राप्त भएपछि प्रशासनले तत्काल खोजी कार्य सुरु गरेको हो । सामूहिक बलात्कार घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय तोकेको थियो । उनलाई साउन २१ गते मात्रै पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
कारागार प्रशासनका अनुसार कैदी खत्रीलाई रातको पालोमा डिउटीमा खटाइएको थियो । सोही समयमा उनले मुढा उत्पादन उद्योगको छत प्रयोग गरी अस्थायी सीढी बनाएर पर्खाल नाघेका थिए । घटना बिहान करिब २ बजेको आसपास भएको बताइएको छ ।
घटनापछि सुरक्षा संयन्त्रलाई सतर्क बनाइएको छ । खत्रीको खोजीका लागि सुनसरी, उदयपुर, सप्तरीलगायतका जिल्लामा प्रहरी परिचालन गरिएको छ । झुम्का कारागारमा ४५ भन्दा बढी सशस्त्र तथा जनपद प्रहरी खटिएका भए पनि कैदी फरार हुनु सुरक्षाप्रति गम्भीर लापरबाहीका रूपमा हेरिएको छ ।
हाल सशस्त्र प्रहरीका डिएसपी राजेश श्रेष्ठको नेतृत्वमा खटिएको सुरक्षा टोली र जनपद प्रहरीको भूमिकामाथि समेत अनुसन्धान हुने भएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले कारागारको स्थलगत निरीक्षण गरेको छ । साथै, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई घटनाको सम्पूर्ण विवरण संकलन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।
बुधबार बिहानसम्म झुम्का कारागारमा एक हजार सात सय ९५ जना कैदीबन्दी रहेका थिए । कैदी फरारको विषयमा सम्पर्क गर्दा जेलर सुवासकुमार लामिछानेले टिप्पणी दिन अस्वीकार गरे ।
उल्लेखनीय छ, यसअघि २०६९ सालको कार्तिक २३ गते पनि यही झुम्का कारागारबाट सुरुङ खनेर ११ जना कैदी फरार भएका थिए ।