नेभिगेशन
नेपाल

चुनावमा नजाने एमालेको निर्णय

काठमाडौँ : नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनःस्थापनामा जाने र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ । तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको
उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए । 

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता ज्ञवालीले यही २९,३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जानकारी दिए । उनले सरकार अवैधानिक तरिकाले राहदानी रोक्का गर्ने काममा सरकार लागेको बताए ।

‘सरकार चुनावका लागि तयार छैन,’ उनले भने, ‘प्रहरीचौकी लुट्नेलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनःस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ ?’ केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्ने र त्यसमा एजेन्डामा छलफल हुने उनले जानकारी दिए ।

नेता ज्ञवालीले संसद् पुनःस्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर  आएको दाबी उनको थियो । उनले भने, ‘नेतृत्वको विषयमा छलफल भएको हो, हामी महाधिवेशनमा जान्छौँ, प्रतिगमनविरुद्धको साझा निचोड आएको छ ।’

मंसीरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ । मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्