काठमाडौं, २६ असोज - साताको पहिलो कारोबार दिन आइतबार शेयरबजारमा उच्च अंकको गिरावट भएको छ । कारोबार मापक नेप्से परिसूचक ३.०५ प्रतिशत (७८.८३ अंक)ले घटेर २,५०३.३५ विन्दुमा झरेको छ । कारोबार भएका २५१ कम्पनीमध्ये २४२ वटाको शेयरमूल्य घट्दा बजारमा पहिरो नै गएको छ । बजार घटे पनि नौ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् ।
कारोबार रकममा भने केही सुधार भएको छ । गतसाता दैनिक औसत पाँच अर्ब हाराहारीको कारोबार भएकामा यस साता आइतबार ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ बराबरको एक करोड ४३ लाख ६४ हजार ६४२ कित्ता शेयर किनबेच भएको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक २.६४ प्रतिशत (११.९१ अंक)ले घटेर ४३९.४० विन्दुमा झरेको छ । यस्तै साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक २.९५ प्रतिशत (५.२३ अंक) घटेर १७२.२७ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक २.८१ प्रतिशत (४.३२ अंक) घटेर १४९.०२ विन्दुमा कायम भएको छ ।
१३ वटै समूहमा गिरावट
सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । होटल तथा पर्यटन र अन्य समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । नेप्सेका अनुसार होटल तथा पर्यटन समूह ४.८४ प्रतिशत घटेको छ भने अन्य समूह ४.७९ प्रतिशत घटेको छ ।
त्यसपछि जलविद्युत् समूह ३.७९ प्रतिशत, फाइनान्स समूह ३.६७, लगानी ३.१३, विकास बैंक २.९३, लघुवित्त २.८८, व्यापार २.८५, जीवन बीमा २.५५, निर्जीवन बीमा २.३२, बैंकिङ २.३० र उत्पादन तथा प्रशोधन समूह १.९४ प्रतिशत घटेका छन् ।
सर्वाधिक शेयरमूल्य बढ्ने पाँच कम्पनी
बजारमा उच्च गिरावट देखिए पनि यसदिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका शेयरधनीले ६.०१ प्रतिशत कमाएका छन् । नौ वटा कम्पनीको शेयरमूल्य बढेको छ । सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्ससँगै पञ्चकन्या माई हाइड्रोपावर (४.९० प्रतिशत), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (१.८२ प्रतिशत), कर्पोरेट डेभलपमेन्ट बैंक (१.३५ प्रतिशत) र एनएलजी इन्स्योरेन्स कम्पनी (०.७१ प्रतिशत) रहेका छन् ।
सर्वाधिक शेयरमूल्य घट्ने पाँच कम्पनी
बुटवल पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घटेको छ । नेपाल रिइन्स्योरेन्सको पनि ९.१५ प्रतिशत घटेको छ । सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा बुटवल पावर, नेपाल रिइन्स्योरेन्स, राधि विद्युत्, सीईडीबी होल्डिङ्स र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।
नेप्सेका अनुसार राधि विद्युत् कम्पनीको ८.५० प्रतिशत, सीईडीबी होल्डिङ्स ८.४५ र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.२७ प्रतिशत शेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको
सबैभन्दा धेरै शेयरकारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको भएको छ । त्यसपछि एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी होल्डिङ्सको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भई सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा समावेश भएका छन् ।
लगानीकर्ताले गुमाए एक खर्ब ३२ अर्ब
शेयर लगानीकर्ताले आइतबार मात्रै एक खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । बजार पुँजीकरण ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ४४ अर्ब रुपैयाा घटेर १४ खर्ब २५ अर्बमा कायम भएको छ ।
बजार घट्नुको कारण के हो ?
गतसाता तीन दिन कारोबार भएकामा दुई दिन नेप्सेमा गिरावट भएको थियो भने एक दिन सामान्य बढेको थियो । नेप्सेमा कुल ८१ अंकको गिरावट भएको थियो । यस साता पहिलो कारोबार दिन नै ७८ अंकको गिरावट हुनुलाई लगानीकर्ताले बढ्दो राजनीतिक अस्थिरता र लगानीको वातावरण बन्न नसक्नु भएको रुपमा विश्लेषण गरेका छन् ।
बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य पैसा छ, ब्याजदर पनि निकै सस्तो भइसकेको छ, तर कम्पनीमा शेयर लगानी गररे प्रतिफल पाउने वातावरण नबनेपछि लगानीकर्ताले शेयर किन्न रुचि देखाएका छैनन् । लगानीयोग्य पैसा थुप्रिँदै जाँदा बैंकहरूको नाफामा असर पर्छ ।
यस्तै जेनजी आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबीका कारण निर्जीवन बीमा कम्पनीहरूमाथि पनि दबाब परेको छ । यसको असर पनि बजारमा परेको छ । अर्कोतर्फ केही जलविद्युत् कम्पनीमा स्थानीय बासिन्दाले सित्तैमा शेयर माग्न थालेपछि सो क्षेत्र पनि प्रभावित भएको छ । यिनै कारण शेयरबजारमा दबाब परेको विश्लेषण गरिएको छ ।