नेभिगेशन
प्रदेश

मेयर बालेन र सुदन गुरुङविरुद्ध किटानी जाहेरी

सरकारी सम्पत्ति तोडफोड, आगजनी र अराजक गतिविधिमा उक्साएको आरोप

रौतहट, २७ असोज - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ अभियानका सुदन गुरुङविरुद्ध नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले रौतहटमा किटानी जाहेरी दिएको छ ।

युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोष कुमार साहले जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक रुद्र कडेललाई जाहेरी बुझाएका हुन् । जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ का विभिन्न दफाहरू (दफा ६३, ६४, ७३, २४४, २८४ र २८५) अनुसार कारबाहीको माग गरिएको छ ।

जाहेरीकर्ताहरूका अनुसार भदौ २४ गते ‘जेनजी’ समूहका नाममा रौतहट जिल्लामा भएको तोडफोड, आगजनी र अराजक घटनामा बालेन र गुरुङले प्रत्यक्ष वा परोक्ष रूपमा उक्साएको आरोप छ । सरकारी कार्यालय, नगरपालिकाको भवन, विद्यालय, अस्पताल, मठमन्दिर, व्यवसायिक भवन, न्यायपालिकाका संरचना र प्रहरी चौकीहरूमा तोडफोड, आगजनी, लुटपाट तथा हातहतियार लुटिएको घटनामा उनीहरूको भूमिका रहेको भन्दै कडा कारबाहीको माग गरिएको हो । 

जाहेरीमा उल्लेख भएअनुसार, ती घटनामा सुरक्षाकर्मी, विद्यार्थी र सर्वसाधारणको ज्यान जोखिममा परेको थियो । जाहेरी दर्ता नभए आन्दोलनमा उत्रने चेतावनीसमेत युवा संघका जिल्ला इन्चार्ज सन्तोष साहले दिएका छन् । ‘यदि हाम्रो जाहेरी तत्काल दर्ता गरी दोषीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएन भने हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं,’ साहले भने ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले भने जाहेरी दर्ता नभएको जनाएका छन् । ‘हामीले जाहेरी लिएका छौं तर दर्ता गर्ने नगर्ने भन्नेबारे माथिल्लो निकायसँगको छलफलपछि निर्णय हुन्छ,’ गिरीले बताए । 

उनले भदौ २४ गतेका घटनामा बालेन र सुदन गुरुङको प्रत्यक्ष संलग्नता देखिएको प्रमाण हालसम्म नपाएको पनि स्पष्ट पारे । जाहेरी बुझाउनु अघि राष्ट्रिय युवा संघ नेपालले रौतहटको गौरमा मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । कार्यक्रममा ठूलो संख्यामा युवा कार्यकर्ताको सहभागिता देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला