कारोबार शुरु भएपछि करिब एक घण्टासम्म तीव्र उतारचढाव भएको नेप्से अन्तिम समयमा ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा बन्द भएको छ ।
काठमाडौं, २७ असोज - शेयरबजारमा सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ । कारोबार शुरु भएपछि करिब एक घण्टासम्म तीव्र उतारचढाव भएको नेप्से अन्तिम समयसम्म ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा बन्द भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । सोमबार चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख चार हजार ८७४ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँको कारोबार भएको थियो । कारोबार भएका २५२ कम्पनीमध्ये २०० वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बजार बढे पनि ४४ कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.१७ प्रतिशत बढेर ४४४.५४ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक १.५४ प्रतिशत बढेर १७४.९३ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.३२ प्रतिशत बढेर १५०.९९ विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ वटै समूह बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढेको छ । यो समूहमा पर्ने नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेपछि सूचकमा उच्च वृद्धि देखिएको हो । अन्य समूहपछि होटल तथा पर्यटन समूह ३.३५ प्रतिशत बढेको छ । त्यसपछि ब्यापार समूह २.८१ प्रतिशत, लगानी २.२७, जलविद्युत २.१०, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, निर्जीवन बीमा १.४४, विकास बैंक १.४१, फाइनान्स १.०२, लघुवित्त ०.६३, म्युचुअल फण्ड ०.३२ र बैंकिङ ०.२८ प्रतिशत बढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसपछि इमर्जिङ नेपालको ९.९२ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ९.८२ प्रतिशत बढेको छ ।
बजार बढे पनि ४४ कम्पनीका शेयरधनीले गुमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशत गुमेको छ । यसपछि थ्रिस्टार हाइड्रोपावर ४.४५ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३.५३ प्रतिशत, महुली लघुवित्त वित्तीय संस्था २.६२ प्रतिशत र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २.३६ प्रतिशत घटेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर कारोबार सबैभन्दा धेरै ३१ करोड ९१ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ४७ लाख रुपैयाँ, ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९० ’को २४ करोड ४५ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको २० करोड ९२ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १८ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भई सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा समावेस भएका छन् ।
लगानीकर्ताको सम्पत्ति एक दिनमा ७४ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि २२ अर्ब रुपैयाँ बढेर १४ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ ।