नेभिगेशन
नेपाल

पाँच सय मेगावाट माथिका आयोजनामा लगानी गर्न कोरियालाई आग्रह

काठमाडौं । सरकारले नेपालमा पाँच सय मेगावाट माथिका ठूला जलाशय जलविद्युत् आयोजनामा लगानी गर्न कोरियालाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङसँगको भेटमा विद्युतको माग र आपूर्तिको सन्तुलन व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिने ठूला जलाशय जलविद्युत् आयोजनामा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले ठूला जलाशय आयोजना दुवै देशका सरकारी तहबीचको साझेदारीमा एवं कोरियन निजी कम्पनीको लगानीमा गर्न सकिनेमा जोड दिए । उनले कोरियामा सरकारसँगको साझेदारीमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन सफल रहेको तथा नेपालमा पनि यसको प्रचुर सम्भावना रहेको ग्रीन हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाको रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न राजदूत समक्ष आग्रह गरे ।

उनले अरुण नदी कोरिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहायतालाई छिटो टुंग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलगायतमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए । आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत पुगेको र आउँदो डिसेम्बरभित्र मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेका जानकारी गराए ।

आयोजनाको सुरुङ छिचोल्ने समारोहमा सहभागी भइदिन आग्रह गर्दै राजदूत पार्कले हालसम्म प्राधिकरणबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे । त्यस्तै, कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख सहयोग गरिरहेको भन्दै राजदूत पार्कले कोरियाली कम्पनीलाई नेपालमा आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराए । साथै उनले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्