काठमाडौं, २७ असोज - बैंकिङ प्रणालीमा अहिले १० खर्ब ७६ अर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य पैसा छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ७४ खर्ब ४२ अर्ब रुपैयाँ छ । यसबाट कुल ५६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.६२ प्रतिशत छ ।
राजनीतिक अस्थिरता बढ्दै गएको र लगानीको वातावरण बन्न नसक्दा कर्जाको माग बढ्न नसकेको बैंकहरूले बताएका छन् । अहिलेकै स्थितिमा कर्जाको माग बढ्न सक्ने सम्भावना नदेखिएको एक बैंकरले बताए । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा महँगी बढ्न सक्छ । अत्यधिक तरलता हुँदा बजारमा पैसाको प्रवाह बढी हुन्छ र यसले माग बढाउँछ । मागको तुलनामा आपूर्ति बढ्न सकेन भने महँगी बढ्न सक्छ ।
यस्तै, सस्तो ब्याजदरका कारण घरजग्गा, शेयरबजार लगायतका क्षेत्रमा अध्याधिक लगानी जानसक्छ जसले ति क्षेत्रमा मूल्य बढाउँछ । बैंकहरूले कम सुरक्षित र उच्च जोखिम भएका क्षेत्र र ऋणीलाई पनि कर्जा दिन सक्छन जसले खराब कर्जाको समस्या निम्त्याउन सक्छ ।
प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै जाँदा बजारमा अधिक तरलताको समस्या बढेको छ । केन्द्रीय बैंकले हरेक साता अर्बौं रुपैयाँ प्रणालीबाट तानेर व्यवस्थापन गर्दै आएको छ । यही परिस्थितिमा पनि केन्द्रीय बैंकले तीन अर्ब बढी पैसा बैंकिङ प्रणालीमा पठाउने भएको छ ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएको भन्दै तीन अर्ब ३० करोड रुपैयाँ प्रणालीमा पठाउन लागेको हो । यो रकम ३० अक्टोबर २०२५ देखि ३० अक्टोबर २०२६सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । रकम लिनका लागि असोज २९ गतेभित्र प्रस्ताव गर्नुपर्ने छ ।
राष्ट्र बैंकले प्रस्ताव गरेको रकममध्येबाट वाणिज्य बैंकहरूमा २ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरूमा ४९ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप राखिने जनाएको छ ।
निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न सर्तहरू पुरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पुरा भएको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।
यस्तै खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपातको सीमा भित्र रहेको, अघिल्लो वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, यदि भएको भए फुकुवा भएको ६ महिना अवधि पुरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ ।