नेभिगेशन
विश्व

हमासद्वारा सबै बन्धकको रिहाइ, गाजा युद्ध अन्त्यतर्फ ऐतिहासिक मोड

एजेन्सी – गाजा पट्टीमा दुई वर्षदेखि जारी भीषण युद्ध अन्त्यको दिशामा सोमबार एक ऐतिहासिक कदम चालेको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो नियन्त्रणमा रहेका सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कार्य अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार भएको हो । यस कदमले मध्यपूर्वमा दीर्घकालीन शान्तिको आशा जगाएको छ ।

सम्झौताको औपचारिक घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायल भ्रमणका बेला गरिएको थियो । ट्रम्पले यस सम्झौताले ‘युद्धलाई प्रभावकारीरूपमा अन्त्य गर्दै क्षेत्रीय स्थायित्वका लागि ढोका खोलेको’ बताएका छन् ।

सम्झौताअनुसार इजरायलले १९ सयभन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ । यसका साथै गाजा क्षेत्रमा खाद्य सामग्री र मानवतावादी सहायता सहजरूपमा आपूर्ति गर्न अनुमति दिनेछ ।

यो कदम गाजामा पुनर्निर्माण, राहत वितरण र जनजीवन सामान्यीकरणतर्फको महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ । इजरायली सेनाले पुष्टि गरेको विवरणअनुसार, सोमबार दुई चरणमा सात र १३ जना गरी २० जना बन्धकहरूलाई रेडक्रसमार्फत इजरायल ल्याइएको हो । 

ती बन्धकलाई पहिले दक्षिणी इजरायलको एक सैन्य आधारमा पुर्‍याइयो । जहाँ उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको छ । त्यसपछि हेलिकप्टरमार्फत विभिन्न अस्पतालहरूमा पु¥याएर स्वास्थ्य परीक्षण र परामर्श दिइने योजना रहेको बताइएको छ ।

हमासले पनि जीवित सबै बन्धक रिहा भइसकेका सार्वजनिकरूपमा पुष्टि गरिसकेको छ । मृतक बन्धकहरूको शव केही समयपछि इजरायललाई हस्तान्तरण गरिने योजना रहेको बताइएको छ ।

यसै सम्झौताको सन्दर्भमा, इजरायलले दुई सय ५० प्यालेस्टिनी कैदी तत्काल रिहा गर्ने प्रक्रिया अघि बढाएको छ, भने थप १८ सयभन्दा बढी गाजामा बन्दीलाई पनि रिहा गरिनेछ । यो सबै प्रक्रिया रेडक्रस र अन्य मानवीय निकायहरूको निगरानीमा सम्पन्न गरिनेछ ।

गत दुई वर्षको युद्धमा दशौँ हजार प्यालेस्टिनीको ज्यान गएको, लाखौँ विस्थापित भएका र गाजा क्षेत्रमा अत्यधिक मानवीय संकट उत्पन्न भएको अवस्थामा आएको यो सम्झौतालाई शान्तिप्रतिको निर्णायक मोडका रूपमा लिइएको छ । 

विशेषतः युद्धविरामको व्यवहारिक कार्यान्वयनका हिसाबले सोमबारको बन्धक रिहाइले शान्ति प्रक्रियाको नयाँ सम्भावना उजागर गरेको हो । यद्यपि, स्थायी शान्तिका लागि यो एक प्रारम्भिक कदम मात्रै हो ।

बन्धक रिहाइपछि अब इजरायल र हमासबीच अधिक सहमति र विश्वसनीयता निर्माण गर्ने चुनौती बाँकी नै छ । अन्तर्राष्ट्रिय समुदायले पनि यस घटनालाई सकारात्मक संकेतका रूपमा स्वागत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्