काठमाडौं, २८ असोज - रेमिट्यान्स आप्रवाह र वैदेशिक ब्यापारमा सुधार भएपछि अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभित्र आर्थिक गतिविधि सुस्त भए पनि निर्यात ब्यापारमा केही सुधार भएको र रेमिट्यान्स आप्रवाह एक वर्ष अघिको तुलनामा ३३ प्रतिशत वृद्धि हुँदा अर्थतन्त्रका सूचकहरू सकारात्मक बनेका हुन् । मूल्यवृद्धिदर १.८७ प्रतिशत मात्रै छ ।
यस्तै, निर्यात ८८.६ प्रतिशत बढेको छ भने आयात १६.२ प्रतिशत वृद्धि भएको छ । विदेशी विनिमय सञ्चिति पनि बढेर २८ खर्ब ८१ अर्ब (२० अर्ब ४१ करोड अमेरिकी डलर) पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९० प्रतिशतले बढेको छ । यसले आर्थिक गतिविधि सुस्त रहेको संकेत गर्छ ।
मुद्रास्फीति १.८७ प्रतिशत
गत भदौ महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) १.८७ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक भएको छ । गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थअन्तर्गत घ्यू तथा तेलको मूल्यवृद्धि ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।
वस्तु तथा सेवा समूहको औसत मूल्यवृद्धि ११.७७, शिक्षाको ७.६७, कपडा तथा जुत्ताचप्पलको ६.२९, सुर्तीको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशत बढेको छ । काठमाडौँ उपत्यकामा मूल्यवृद्धि २.२१, तराईको २.७०, पहाडको १.६८ र हिमालको २.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स साढे तीन खर्ब भित्रियो
आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिनामा तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशत धेरै हो । गतवर्ष साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।
यसवर्ष भदौ महिनामा मात्रै एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गतवर्ष भदौ एक खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै, समीक्षाअवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ८७ अर्ब ७६ करोड पुगेको छ ।
चालु खाता र शोधनान्तर बचतमा
भदौ मसान्तसम्म चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । चालु खाता एक खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा छ । यस्तै, भदौ मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब २० करोड रुपैयाँ छ भने एक अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
भदौसम्म शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब १० करोडले बचतमा छ ।
विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति दुई महिनामा ७.६ प्रतिशत बढेर भदौ मसान्तसम्म २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रुपैयाँ रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई दुई खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।
चालु आर्थिक वर्षको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ महिना २१ दिनको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो
काठमाडौं (संवाददाता)–गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपौयाँ बराबर पुगेको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार सो वर्ष कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१.३३ प्रतिशत खर्च भएको छ ।
चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा ९ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३.८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३.५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९०.५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।
गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४.२८ प्रतिशत राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड रुपैयाँ र ऋण १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ गरी कुल १ खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । गत आर्थिक वर्षको कुल वैदेशिक सहायतामध्ये अनुदान १५.८० प्रतिशत र ऋण ८४.२० प्रतिशत बराबर हो ।
घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण, १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल ४ खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।