काठमाडौं, २९ असोज - बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मागर्दशनमा संशोधन गर्दै भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च गर्न सकिनेछ ।’
यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषको व्यवस्था गरी रकम खर्च गर्नुपर्ने व्यवस्था छ । हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ ।
यसरी छुट्याईएको रकम प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ । संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको पैसा शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लगायतका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले यस्तो रकम खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्रै सीमित भई खर्च गर्न भने पाउने छैनन् ।
सबै कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गको उत्थानलाई लक्षित गरी न्यायोचित ढंगले खर्च गर्नुपर्छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याएको रकमलाई आफ्नो उपस्थिति भएको प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नु पर्ने व्यवस्था पनि छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको यो रकम संस्थाको ब्रान्ड प्रवद्र्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्याली तथा विज्ञापन जस्ता कार्यमा खर्च गर्न पाउनेछैनन् । यस्तै आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसँग सम्बद्ध व्यक्तिलाई परोपकारका नाममा उपहार वा चन्दा प्रदान गर्ने, फेस्ट वा कार्यक्रममा ब्राण्डिङ हुने उद्देश्यले प्रायोजन गर्नेगरी खर्च गरिने रकम यो कोषबाट प्रयोग गर्न पाउने छैनन् ।
५० दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीलाई छनोट गरेको छ । चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नोट छाप्न छनोट गरिएको केन्द्रीय बैंकले जनाएको छ । बुधबार नोट छाप्न ठेक्का दिने आशयपत्र जारी गरेको हो ।
राष्ट्र बैंकले कुल ४२ करोड थान नोट छाप्नका लागि बोलकबोलमार्फत उक्त कम्पनीलाई छनोट गरेको हो । अब चिनियाँ कम्पनीले नै नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि ठेक्का दिने तयारी गरेको हो । सो कम्पनीले ५० दरका नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौता पनि भएको केन्द्रीय बैंकले जनाएको छ ।
यसआधारमा ५० दरको एउटा नोट छाप्न औसत ३ रुपैयाँ ५१ पैसा खर्च हुनेछ । यो प्रस्ताव अन्य प्रतिस्पर्धी प्रस्तावहरूमध्ये सबैभन्दा सस्तो र प्राविधिकरूपमा योग्य ठहरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।