फाइनप्रिन्ट बुक्सले चितवन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक १ मा चौथो संस्करणको फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ । फिभरका अवसरमा फाइनप्रिन्टबाट २०८१ र २०८२ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । उक्त अवसरमा उनीहरूका बौद्धिक विमर्शका सत्र सञ्चालन हुनेछन् ।
चौथो संस्करणको फिभरको सहआयोजक नारायणी कला मन्दिर रहेको छ । कार्यक्रम कात्तिक १ को बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । फिभरका अवसरमा लेखकहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा एवम् अन्तक्र्रिया गर्नुका अतिरिक्त पाठकसँग संवाद पनि गर्नेछन् ।
कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छूटमा पुस्तक प्रदर्शनी रहनेछ । यस कार्यक्रमले पाठकलाई लेखकसँग रूपमा भेट्ने र उनीहरूका जिज्ञासा मेट्ने अवसर मिल्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन ।
फाइनप्रिन्ट फिभरका अवसरमा महानायक राजेश हमाल, २०८१ सालको मदन पुरस्कार विजेता कृति ‘उरमाल’ का लेखक छुदेन काविमो, २०८१ सालकै पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छालबाटो’का लेखक रमेश भुसाल, २०८१ सालको ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्राप्त कृति ‘सिमसारा’ का लेखक एवम् पत्रकार बसन्त बस्नेत, २०८१ सालकै उत्तम शान्ति पुरस्कार विजेता कृति ‘अक्षत अन्टार्कटिका’ का लेखक जीवा लामिछाने, ‘स्वस्पर्श’ कृतिका लेखक डा. नवराज केसी, प्रकाशन सम्मुखमा रहेको ‘चमेलीको फूल बैजनी रुमाल’ कृतिका लेखक सुबिन भट्टराई र फिभरका अवसरमा गृहविमोचन गरिने ‘ज्ञानिका’ कृतिका लेखक ददि सापकोटा पनि सहभागी हुँदै छन् । महानायक राजेश हमालको कृति ‘युगदेखि युगसम्म’ यही असोज २५ मा सार्वजनिक गरिएको थियो ।
आउँदो शुक्रबार अर्थात् असोज ३१ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा सुबिन भट्टराईको नयाँ कृति ‘चमेलीको फूल बैजनी रुमाल’ विमोचनको भोलिपल्ट कात्तिक १ मा फाइनप्रिन्ट फिभरमा उनको पहिलो सत्र रहनेछ । लेखक भट्टराईसँग मिमांशा ढुंगेलले ‘चमेलीको फूल बैजनी रुमाल’ शीर्षकमा नै संवाद गर्नेछिन् ।
फिभरका अवसरमा महानायक राजेश हमालसँग ‘युगदेखि युगसम्म’ सत्रमा लेखक भूपिनले संवाद गर्नेछन् । साथै मदन पुरस्कार विजेता लेखक छुदेन काविमोसँग ‘चियाका कथा : उरमाल’ शीर्षकमा लेखक सामना पहाडको अन्तर्संवाद रहनेछ । यसैगरी ‘नदी र समुद्रको यात्रा’ शीर्षक सत्रमा लेखक जीवा लामिछाने र रमेश भुसालबीच अन्तर्संवाद हुनेछ । ‘स्वस्पर्शको स्पर्श’ शीर्षकमा डा. नवराज केसीसँग लेखक जीवन क्षेत्रीको संवाद रहनेछ ।
यसैगरी लेखक ददि सापकोटासँग लेखक अमर न्यौपानेले ‘२१ ज्ञानिका’ शीर्षकमा संवाद गर्ने कार्यक्रमसमेत छ । फिभरका अवसरमा लेखक एवम् पत्रकार वसन्त बस्नेतसँग ‘महाभारा र सिमसारा’ शीर्षक सत्रमा रञ्जना सुब्बाले संवाद गर्नेछिन् ।
फाइनप्रिन्ट फिभर यस पटक नारायणगढबाट सुरु गरेर अरू शहरमा पनि गर्ने आयोजकको योजना छ । यसअघि फाइनप्रिन्ट फिभर २०७५ वैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो ।
त्यसपछि पोखरामा २०७५ सालमा गरिएको फाइनप्रिन्ट फिभर त्यसपछि पछिल्लो पटक २०७७ सालमा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको थियो । कोभिडपछि फिभर आयोजना गर्न नसकिएको फाइन प्रिन्टका निरज भारीले बताए ।