काठमाडौं (संवाददाता) – सरकारले बबई सिँचाइ आयोजनाका ६ वटा रुग्ण ठेक्का तोड्न सुरु गरेको छ । सरकारले ठेक्का सम्झौता गर्ने तर, काम पूरा नगरी रुग्ण बनाउने एउटै ठेकेदार कम्पनीसँगको भएका ६ वटा ठेक्का तोडेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको हो । बबई आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गरी ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ ।
आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७-७८ मा ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीले पाएको ६ वटा ठेक्कामध्ये ४ वटाको निर्माण प्रगति शून्य छ । एउटाको ३० प्रतिशत र अर्कोको ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।
आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति वा आयोजना कार्यालयमा उपस्थित हुन सूचनामार्फत भनेको छ ।
ठेकेदार कम्पनीले पेश गर्ने प्रमाणहरू नियम संगत, भरपर्दो तथा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्ने सूचनामा भनिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, मन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । उनको निर्देशनबमोजिम नै आयोजनाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको हो ।
सम्झौता गरी काम नगरेर वर्षौंदेखि आयोजना अलपत्र पारी रुग्ण बनाउने सिँचाइ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया थालिएको सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए । आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएकाले ठेक्का तोडेर जानुको विकल्प नरहेको उनले बताए ।
‘यी सबै निर्माण कम्पनीसँगको ठेक्का सम्झौताको म्याद पहिले नै सकिएको थियो,’ उनले भने, ‘तर, यी कम्पनीले काम नगरी म्याद थपको प्रस्ताव मात्रै गरेकाले उनीहरूलाई निरन्तरता दिन नसकिने देखेर नै ठेक्का तोड्ने निर्णयमा पुगिएको हो ।’
सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ सिँचाइ आयोजनाका ठेक्का रुग्ण छन् । राष्ट्रिय महत्त्वका सिँचाइ आयोजनामा पनि ठेकेदार कम्पनीको कार्यप्रगति सन्तोषजनक नदेखिएकाले सुक्ष्म ढंगले अध्ययन गरेर ती ठूला सिँचाइ आयोजनाको समेत ठेक्का तोडेर जाने निर्णयमा विभाग पुग्ने उनले बताए ।
सरकारले राष्ट्रिय गौरवका सुनकोशी–मरिन र भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत्गृहका संरचना निर्माण लामो समयदेखि अलपत्र परेपछि ठेक्का तोडेरै भएपनि अगाडि बढ्ने विकल्पमा जाने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आयोजनासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई मन्त्रालयमा बोलाएर छलफल गरी अहिलेकै ठेकेदार कम्पनीको यी आयोजनाको काम सम्पन्न गर्ने नियत नदेखिएको भन्दै सबै ठेक्का तोडेर अगाडि बढ्नुपर्ने भनिसकेका छन् ।
भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भइसकेको हो । यो बहुउद्देश्य आयोजनाको बाँध तथा विद्युतगृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । यो आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ ।
यस्तै, मुख्य ठेकेदार पटेल–रमण जेभीको कमजोर कार्यसम्पादनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको बाँध निर्माण अपलत्र बनेको छ । ठेक्का सम्झौता भएको ३१ महिना बढीको समय व्यथित भइसक्दा समेत १०.२ प्रतिशत मात्रै भौतिक प्रगति हुनुले आयोजनाको निर्माणले गति लिन नसकेको देखिएको हो ।
आयोजनाको मुख्य ठेकेदार भारतको पलेट कम्पनी भएपनि आयोजना स्थलमा उसको उपस्थिति छैन । आयोजना स्थलमा सहायक रमण कम्पनी मात्रै परिचालन भएको छ । सहायक ठेकेदार कम्पनीले नै कामको मुख्य जिम्मेवारी लिए पनि बाँध क्षेत्रको संरचना निर्माणमा उसको कमजोर कार्यसम्पादन देखिएको छ ।
ठेक्का सम्झौताको तालिका अनुसार अहिलेसम्ममा आयोजनाको बाँध क्षेत्रका संरचनाको आधाभन्दा बढी काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो हुन सकेको छैन । उसले ३१ महिनामा बाँध क्षेत्रका संरचना निर्माण गर्न जग (फाउन्डेसन) हाल्ने कामसमेत सकेको छैन ।