काठमाडौं, ३१ असोज - नेपाल विद्युत प्राधिकरणले दिएको समय सीमा नजिकिँदै गर्दा लोडसेडिङको समयमा ट्रंक लाइन र छुट्टै डेटिकेटेड फिडरबाट विद्युत पहुँच लिएका ७ उद्योगले प्रिमियम महसुलबापतको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेका छन् । विद्युत प्राधिकरणले दिएको २१ दिनको समय सीमा सकिन केही दिनमात्रै बाँकी रहेको अवस्थामा यी उद्योगहरू किस्ताबन्दीको सुविधा लिई महसुल बक्यौता तिर्न आएका हुन् ।
विद्युत प्राधिकरणले दिएको शुक्रबार साँझसम्मको जानकारी अनुसार बाराको सिमरास्थित हामा आइरन एण्ड स्टील, अशोक स्टील र हुलाश स्टील, परासीस्थित लक्ष्मी स्टिल र सर्बोत्तम सिमेन्ट, लमहीस्थित सम्राट सिमेन्ट, रोल्पाको रोल्पा सिमेन्ट र नयाँमिलस्थित नव नेपाल प्लास्टिक उद्योगले विद्युतको प्रिमियम महसुलबापतको बक्यौता रकम भुक्तानी गर्न थालेका छन् । विद्युत प्राधिकरणका अनुसार हामा आइरनले कूल ५ करोड ८५ लाख रुपैयाँ विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेकोमा पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ तिरेको छ ।
यस्तै, यसअघि नै विद्युत बक्यौता तिर्न सुरु गरी गत बैशाखमा तिर्न छोडेको लक्ष्मी स्टीलले ८४ लाख ९५ हजार रुपैयाँ विद्युत प्राधिकरणलाई तिरेको छ । अशोक स्टीलले कूल १७ करोड ५८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकोमा २६ किस्तामा चुक्ता गर्ने गरी पहिलो किस्ता बापतको ६३ लाख रुपैयाँ विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्रलाई बुझाएको छ ।
यस्तै, हुलाश स्टीलले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम दरको विद्युत प्रयोग गरेबापत कुल १४ करोड १२ लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा २८ किस्तामा चुक्ता गर्ने गरी अहिले पहिलो किस्तामा ५० लाख ४३ हजार रुपैयाँ तिरेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । यस्तै, यसअघि पनि केही समय किस्ताबन्दीमा तिर्न सुरु गरेको सर्बोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ किस्ता बुझाएको विद्युत प्राधिकरणले जनाएको छ ।
ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रिमियम शुल्क सहितको महसुल बक्यौता तिर्न सुरु गर्ने अन्य उद्योगमा बक्यौता तिर्न २८ किस्ताकै सुविधा लिई केही किस्ता बुझाएपछि गत बैशाखदेखि किस्ता बुझाउन छोडेका सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले पनि बाँकी किस्ता तिर्न थालेका छन् ।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ बैशाखसम्ममा प्रिमियम महसुल दरमा खपत गरेको विद्युतको ३ करोड ७७ लाख बक्यौता तिर्न बाँकी राखेकोमा उसले प्रतिकिस्ता हरेक महिना १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएर ४ किस्ता बुझाएपछि तिर्न छोडेको थियो ।
स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा ७ किस्ता मात्र बुझाएको थियो । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको थियो । त्यसै अनुसार उद्योगले बाँकी ४ किस्ताको रकम बुझाएको र अब नियमित किस्ता तिर्ने जनाएको प्राधिकरणको प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।
यसैगरी, रोल्पा सिमेन्टले कुल बक्यौता महसुल ९९ लाख १२ हजार रुपैयाँ रहेकोमा प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी अब १७ किस्ता नियमित तिर्ने जनाएको छ ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले गत असोज १२ गते २१ दिनभित्र ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता तिर्न आउन उद्योगीलाई ताकेता गर्दै सार्वजनिक सूचना जारी गरी बोलाएको थियो । विद्युत प्राधिकरणले दिएको समय सीमा कात्तिक २ गते सकिँदैछ ।
अहिलेसम्म ८ वटा उद्योग मात्रै विद्युत प्राधिकरणको सम्पर्कमा आएर महसुल बक्यौताको किस्ता तिर्न सुरु गरेका छन् । धेरै बक्यौता भएका ठूला उद्योग अझै सम्पर्कमा नआएको विद्युत प्राधिकरणले जनाएको छ । किस्ताबन्दीमा विद्युत बक्यौता तिर्न सुरु गरेका उद्योग बाहेकको लाइन काट्ने तयारीमा विद्युत प्राधिकरण छ ।