नेभिगेशन
उपत्यका

सातौं बाह्रखरी कथा प्रतियोगिता घोषणा

‘कथा’ लेखन विधालाई प्रवद्र्धन गर्न सघाउ पुर्‍याउने उद्देश्यले डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा गरिएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानलले सो कथा प्रतियोगितामा भाग लिन चाहने कथाकारहरूलाई आगामी कात्तिक ३० गतेभित्र आआफ्नो कृति पठाउन अनुरोध गरे । उनले यस वर्ष पुरस्कारको राशि वृद्धि गरिएको जानकारी दिँदै अबदेखि प्रथम हुनेले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले रु ६० हजार पुरस्कार प्राप्त गर्ने स्पष्ट गरे ।

वरिष्ठ साहित्यकार एवं रंगकर्मी अशेष मल्लको संयोजकत्वमा गठित कथा प्रतियोगिताको निर्णायक मण्डलमा कथाकार मञ्जु काँचुली र अभय श्रेष्ठ छनोट भएका छन् । सो अवसरमा नेपालको आधुनिक कथाप्रवृत्ति हेर्न विगत सात वर्षयता बाह्रखरीले प्रकाशन गरेका उत्कृष्ट कथासँगालो हेर्न आग्रह गरे ।

छनोट प्रक्रियाअन्तर्गत कथाकारहरूले आफ्ना कथा ‘बाह्रखरी सञ्चार गृह’ मा पठाउनुपर्नेछ । यसरी प्राप्त कथाहरूलाई बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा गठित समूहले प्रारम्भिक चरणको छनोट गर्नेछ ।

उक्त आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० वटा उत्कृष्ट कथा निर्णायक समूहलाई उपलब्ध गराउनुपर्नेछ । उत्कृष्ट ५० भित्र पर्न सफल कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय घोषणा गर्नुपर्ने व्यवस्था गरिएको सो अवसरमा बताइयो । यसैगरी ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ वटा कथा छनोट गरी पुस्तक प्रकाशन गरिने भएको छ ।

सो अवसरमा प्रा डा अभि सुवेदीले साहित्यमा आख्यान विधाको महत्वमाथि विद्वत् प्रवचन दिँदै समाज रुपान्तरणमा आख्यान विधाको महत्वपूर्ण योगदान हुने बताए । उनले आकर्षक पुरस्कार राशिसहित घोषणा भएको यस किसिमको कथा प्रतियोगिताबाट मुलुकको साहित्य सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्