नेभिगेशन
अर्थतन्त्र

बढ्न सकेन शेयरबजारमा लगानीकर्ताको मनोबल

काठमाडौं, १ कात्तिक - गतसाता शेयर बजार पाँच कारोबार दिनमध्ये चार दिन घट्यो । साताको दोस्रो दिन सोमबार ४४.२५ अंकले बढ्यो । बाँकी चार दिनमा उच्च अंकले घट्दा समग्रमा ९५ अंकको गिरावट देखिएको छ । सबैभन्दा धेरै आइतबार ७८.८३ अंकले नेप्से घटेको थियो ।

लगानीकर्तामा कन्फिडेन्स आउन नसक्दा नेप्सेमा गिरावट देखिएको शेयर विश्लेषकहरूको तर्क छ । साताको पहिलो दिन २,५८२.१८ विन्दुबाट खुलेको बजार अन्तिम कारोबार दिन बिहीबार २,४८७.१७ विन्दुमा झरेर रोकिएको छ ।

बैंकिङ प्रणालीमा करिब ११ खर्ब लगानीयोग्य पैसा थुप्रिएको छ । तर कर्जाको माग बढ्न सकेको छैन । यसले बैंक तथा वित्तीय संस्थाको लागत बढ्ने र भविष्यमा नाफा वितरण क्षमतामा कमी आउने सम्भावना छ । 

यस्तै, राजनीतिक अस्थिरता, विभिन्न समयमा भएको आन्दोलन, लगानीको वातावरण बन्न नसक्नु, उपभोग घटेर जानु, महँगी बढ्नुलगायत कारण आर्थिक गतिविधि खुम्चिएर गएको छ । आर्थिक गतिविधि न्यून देखिएपछि अर्थतन्त्रका सूचकहरू भने सकारात्मक छन् । तर पनि लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।

लगानीको वातावरण बन्न नसक्दासम्म बजारमा दबाब पर्ने लगानीकर्ताको बुझाइ छ । ठूला र संस्थागत लगानीकर्ताले बजारबाट शेयर खरिद गर्न सकिरहेका छैनन् । त्यसैले कारोबार रकम पनि खुम्चिदै गएको छ । गतसाता पाँच कारोबार दिनमा कुल २१ अर्ब ४१ करोड रुपैयाँ हाराहारी कारोबार भएको छ । 

दैनिक औसत कारोबार चार अर्ब २८ करोड मात्रै छ । गतसाता अन्तिम तीन दिन तीन अर्ब रुपैयाँभन्दा केही बढीको मात्रै शेयर कारोबार भएको देखिन्छ । यसले लगानीकर्तामा शेयर खरिद गर्ने मनोबल बन्न नसकेको देखिन्छ ।

एक सातामा लगानीकर्ताले एक खर्ब ५९ अर्ब रुपैयाँ गुमाएका छन् । अघिल्लो साता ४३ खर्ब १६ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण गतसाता घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि एक सातामा ५८ अर्ब रुपैयाँ घटेर १४ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र