काठमाडौं (संवाददाता) – नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेटिकेटेड फिडरको विद्युत् बक्यौता तिर्न दिएको समय सीमाभित्र १२ उद्योग मात्रै सम्पर्कमा आएका छन् । आइतबार कार्यालय समय सकिँदासम्म विद्युत् प्राधिकरणको सम्बन्धित वितरण केन्द्रहरूमा यी उद्योगहरूले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता बुझाएका हुन् ।
विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार विद्युत् महसुल बक्यौता तिर्नेमा हुलास स्टील, अशोक स्टील, सम्राट सिमेन्ट,´रोल्पा सिमेन्ट, नव नेपाल प्लास्टिक उद्योग, लक्ष्मी स्टील, हामा आइरन एण्ड स्टील, सबोत्तम सिमेन्ट, जिवी टेक्स्टाइलका २ उद्योग, रबर उद्योग, शुभश्री अग्नि सिमेन्ट र विनायक इस्पट प्रालि रहेका छन् ।
यी उद्योगले विद्युत् प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल बक्यौता तिरेको विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । उनका अनुसार आइतबार विनायक इस्पट प्रालिले आइतबार ५ किस्ताबापतको १ लाख ४७ हजार ५ सय ११ रुपैयाँ तिरेको छ ।
विद्युत् प्राधिकरणका अनुसार हामा आइरनले कूल ५ करोड ८५ लाख रुपैयाँ विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेकोमा पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ तिरेको छ । यस्तै, यसअघि नै विद्युत् बक्यौता तिर्न सुरु गरी गत बैशाखमा तिर्न छोडेको लक्ष्मी स्टीलले ८४ लाख ९५ हजार रुपैयाँ विद्युत् प्राधिकरणलाई तिरेको छ । अशोक स्टीलले कूल १७ करोड ५८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकोमा २६ किस्तामा चुक्ता गर्ने गरी पहिलो किस्ता बापतको ६३ लाख रुपैयाँ विद्युत् प्राधिकरणको सिमरा वितरण केन्द्रलाई बुझाएको छ ।
यस्तै, हुलाश स्टीलले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम दरको विद्युत् प्रयोग गरेबापत कुल १४ करोड १२ लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा २८ किस्तामा चुक्ता गर्ने गरी अहिले पहिलो किस्तामा ५० लाख ४३ हजार रुपैयाँ तिरेको प्रवक्ता ढकालले बताए । यस्तै, यसअघि पनि केही समय किस्ताबन्दीमा तिर्न सुरु गरेको सर्बोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ किस्ता बुझाएको विद्युत् प्राधिकरणले जनाएको छ ।
बक्यौता तिर्न २८ किस्ताकै सुविधा लिई केही किस्ता बुझाएपछि गत बैशाखदेखि किस्ता बुझाउन छोडेका सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले पनि बाँकी किस्ता तिर्न तिरेका छन् ।
सम्राट् सिमेन्टले २०७२ माघदेखि २०७५ बैशाखसम्ममा प्रिमियम महसुल दरमा खपत गरेको विद्युतको ३ करोड ७७ लाख बक्यौता तिर्न बाँकी राखेकामा उसले प्रतिकिस्ता हरेक महिना १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएर ४ किस्ता बुझाएपछि तिर्न छोडेको थियो ।
यो उद्योगले स्वीकृत किस्ता सुविधाबमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनुपर्नेमा ७ किस्ता मात्र बुझाएको थियो । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको थियो । त्यसै अनुसार उद्योगले बाँकी ४ किस्ताको रकम बुझाएको र अब नियमित किस्ता तिर्ने जनाएको छ ।
यसैगरी, रोल्पा सिमेन्टले कुल बक्यौता महसुल ९९ लाख १२ हजार रुपैयाँ रहेकामा प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले ५ किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी अब १७ किस्ता नियमित तिर्ने जनाएको छ । त्यस्तै, नव नेपाल प्लास्टिक इण्डस्ट्रिज १२ किस्ताको १ लाख १३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जनाएको छ ।
शुभश्री अग्नि सिमेन्टले ९८ लाख रुपैयाँ बक्यौतामध्ये ३ लाख ५३ हजार रुपैयाँ पहिलो किस्ता तिरेको छ । विद्युत् प्राधिकरणले गत असोज १२ गते २१ दिनभित्र ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता तिर्न आउन उद्योगीलाई ताकेता गर्दै सार्वजनिक सूचना जारी गरी बोलाएको थियो ।
विद्युत् प्राधिकरणले दिएको समय सीमा आइतबार रातिबाट सकिएको छ । तोकिएको समयावधीभित्र महसुल तिर्न नआएका उद्योगको लाइन काट्ने तयारीमा विद्युत् प्राधिकरण छ । अब जुनसुकै समयमा बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरिएको प्रवक्ता ढकालले बताए ।
६ उद्योगलाई अन्तरिम आदेश
विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन २१ दिनको समय तोक्दा अदालत पुगेका ६ उद्योगले अन्तरिम आदेश पाएका छन् । यी उद्योगले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल नतिर्न अन्तरिम आदेश लिएका हुन् ।
अरिहन्त,पोलिप्याक्स, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल,बाबा जुट मिल, युनाइटेड सिमेन्ट प्रालि र मारुती सिमेन्टले अदालतबाट अन्तरिम आदेश ल्याएका हुन् । यी उद्योगले अदालतको अन्तरिम आदेश ल्याएकाले लाइन काट्न विद्युत् प्राधिकरणलाई समस्या भएको छ ।