रौतहट, ८ कात्तिक - मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले छठ पर्व सम्पन्न भएपछि प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सरकारका सत्तारुढ पाँच दलको शनिबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले छठ लगत्तै विश्वासको मत लिने निर्णय गरेको हो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका प्रदेशस्तरीय नेताहरू सहभागी थिए ।
माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता युवराज भट्टराई ‘ समीर’ ले मुख्यमन्त्री सोनलले छठ सकिएर केही दिनपछि विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । उनले भने , ‘हामीसँग ५८ जना सांसद छन्, विश्वासको मत सजिलै पाउँछौ । गठबन्धनमा कुनै समस्या छैन ।’
भट्टराईका अनुसार मुख्यमन्त्री सोनलले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । उनले जनमत पार्टीको आन्तरिक विवादले पनि सरकारको स्थायित्वमा असर नपार्ने दाबी गर्दै भने, ‘दलभन्दा माथि कोही हुँदैन, सबै दलले मिले र सरकारलाई पूर्णता दिने छन् ।’
एकीकृत समाजवादीका प्रमुख सचेतक तथा बिना विभागीय मन्त्री कनिष पटेलले पनि गठबन्धन स्थिर रहेको बताए । उनले भने, ‘बाहिर हल्ला चले जस्तो कुनै अविश्वास छैन । सबै सत्तारुढ दलहरू एकताबद्ध छन् र मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने छन् ।’
उनका अनुसार केही व्यक्ति र समूहहरूले गठबन्धन फुटाउने प्रयास गरे पनि त्यो असम्भव छ ।बैठकमा लोसपाको तर्फबाट मुख्यमन्त्री सोनल स्वयं, जसपाबाट प्रमुख सचेतक रामआशीष यादव, जनमत पार्टीका नेता महेश यादव, माओवादी केन्द्रका नेता युवराज भट्टराई ‘समीर’ र एकीकृत समाजवादीका प्रमुख सचेतक कनिष पटेल सहभागी थिए ।
मुख्यमन्त्री सोनल गत असोज २९ गते नियुक्त भएका थिए । नेपालको संविधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मधेश प्रदेशसभामा कुल एक सय सात जना सदस्य छन्, जसमा विश्वासको मत पाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
सत्तारूढ गठबन्धनसँग अहिले बहुमतभन्दा बढी सांसदको समर्थन रहेको दाबी गर्दै नेताहरूले विश्वासको मतमा कुनै समस् या नहुने र सरकार चाँडै पूर्णतामा पुग्ने विश्वास व्यक्त गरेका छन् ।