नेभिगेशन
उपत्यका

संसद् भवन निर्माण पुस १६ भित्र नसकिए निर्माण कम्पनीलाई कारबाही हुने

काठमाडौं (संवाददाता) – पाँचौं पटक थपिएको म्यादभित्र पनि संसद् भवन निर्माण सम्पन्न नभए सरकारले ठेक्का सम्झौता भए बमोजिम निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको स्थलगत अनुगमन गरी आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न नगरे कारबाही गर्ने चेतावनी दिएका हुन् । निर्माण सम्पन्न नभए त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निर्माण कम्पनीले नै बहोर्नुपर्ने मन्त्री घिसिङले बताएका छन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । तर काम सुरु भएको ६ वर्ष भइसक्दापनि भवन निर्माणको काम सकिएको छैन । भवन निर्माणका लागि भएको ठेक्का सम्झौताको पाँचौं पटक थपिएको म्याद आगामी पुस १६ गते सकिँदैछ ।

अहिलेसम्म संसद् भवनको भौतिक संरचनाको निर्माण करिब ८७ प्रतिशत पूरा भएको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो । यो प्याकेजको निर्माण प्रगति करिब ३० प्रतिशत पुगेको छ ।

संसद् भवनको अवलोकनमा पुगेका मन्त्री घिसिङले दुवै निर्माण कम्पनीलाई काम पूरा हुने अन्तिम तालिकाका विषयमा प्रतिबद्धता माग गरे । उनले संसद् भवनको निर्माण आगामी पुसभित्र सम्पन्न गर्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न निर्माण कम्पनीसँग आग्रह गरे । उनले निर्माण कम्पनीले अब पनि संसद् भवनको निर्माणलाई गति नदिने हो भने तोकिएको पछिल्लो तालिकाभित्र सम्पन्न गर्न नसकिने बताउँदै घिसिङले हरेक दिनको कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिए ।

‘जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भएन क्षतिग्रस्त भएको छ, राष्ट्रिय सभाको बैठक चलाउनुपर्नेछ,’ उनले भने, ‘आगामी फागुन २१ गतेको निर्वाचनपछि प्रतिनिधिसभा पनि चलाउनुपर्ने भएकाले चाँडै सम्पन्न गर्नुहोला ।’ उनले दुवै निर्माण कम्पनीले एक आपसमा समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले तोकिएको समयमा संसद् भवन निर्माण सम्पन्न गर्न मन्त्रालयकातर्फबाट आवश्यक सहयोग, समन्वय सहजीकरण र अनुगमन गरिने बताए । ठेक्का लिएको निर्माण कम्पनीहरूले पछिल्लो समय तालिकाभित्र नै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको दाबी गर्‍यो । ती कम्पनीले तालिकाभन्दा केही ढिलो हुने देखिएपनि जनशक्ति थपेर संसद् भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपर्पोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालन लगायतका काम गर्न बाँकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्