नेभिगेशन
नेपाल

‘देश बचाउन नयाँ बाटो आवश्यक’

काठमाडौं (संवाददाता) – विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आइतबार काठमाडौंमा विभिन्न सञ्चामाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गरेका छन् । संवादमा उनले मुलुकको राजनीतिक र सामाजिक अवस्थाबारे आफ्नो धारणा राखे । उनले भने, ‘तपाईहरूले भन्नुहुन्छ दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी छु, म जान तयार छु ।’

आफूलाई लोभ नभएको, देशको भलो चाहने व्यक्ति भएको दाबी गर्दै उनले अब देशलाई बचाउन र अघि बढाउन नयाँ बाटो अपनाउनु आवश्यक रहेको बताए । उनले आफ्नो राजनीतिक यात्रा २०५७ सालदेखि माओवादी, एमाले हुँदै अहिलेको अवस्थामा आएको स्मरण गर्दै अब देशका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

प्रसाईंले देशमा शान्ति, सामाजिक सद्भाव र स्थायित्व कायम गर्न राजसंस्था पुनर्स्थापना आवश्यक रहेको दोहोर्‍याए । उनले आगामी १५ दिनभित्र आफ्नो आन्दोलन सञ्चालन हुने र त्यसमा साना ऋणीहरूको कर्जा माफी र सनातनी हिन्दू अधिराज्य स्थापनाका विषय समावेश हुने बताए । 

यसका लागि आफ्नो सम्पत्तिको ८० प्रतिशतसम्म योगदान गर्न तयार रहेको पनि उनले घोषणा गरे । पत्रकार सम्मेलनमा उनले मिडिया, पत्रकार र नागरिक समाजमाथि विगतमा दिएका टिप्पणीका लागि क्षमा मागे । तर, उनले केही व्यक्तिहरूले नियम र कानुनको आडमा उनलाई अन्याय गरेको आरोप पनि लगाए । उनले आफ्नो अभियान शान्तिपूर्ण तर निर्णायक हुने दाबी गरे ।

कात्तिक १५ गतेबाट आन्दोलन घोषणा गरेका प्रसाईंसँग आइतबारै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरूले छलफल गरेका थिए । छलफलमा प्रसाईंले आफू सरकारसँग वार्ताका लागि तयार रहेको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्