नेभिगेशन
नेपाल

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

काठमाडौं, ९ कात्तिक - चालू आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा करिब चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन देखि असोज मसान्तसम्म तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

तीन महिनामा कुल चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको छ भने ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा भएको हो ।

भारतसँग सबैभन्दा धेरै व्यापार घाटा

छिमेकी मुलुक भारतबाट मात्रै दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएको छ भने ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको निर्यात भएको छ । तीन महिनामा भारतसँग मात्रै एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

भारतपछि चीनसँग धेरै व्यापार घाटा भएको छ । साउनदेखि असोज मसान्तसम्म चीनसँग कुल एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

अर्जेन्टिनासँग तेस्रो धेरै व्यापार घाटा भएको छ । तथ्यांकअनुसार तीन महिनामा २७ अर्ब ८९ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । अर्जेन्टिनाबाट २७ अर्ब ८९ करोड ३० लाख रुपैयाँको आयात भएको छ भने जम्मा पाँच लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।

डेनमार्कसँग सबैभन्दा धेरै व्यापार नाफा

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको छ । यसरी डेनमार्कसँग कुल २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

सबैभन्दा धेरै आयात 

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ ।

अर्जेन्टिनाबाट भटमासको कच्चा तेल २४ अर्ब ६८ करोड ६८ लाख रुपैयाँको आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ । यस्तै फलामजन्य वस्तु १२ अर्ब ५१ करोड ६४ लाख रुपैयाँको भएको छ । यस्तै १० अर्ब २५ करोड ३२ लाख रुपैयाँको आयात भएको छ ।

छ सय किलो सुन आयात

गत साउनदेखि असोज मसान्तसम्म ६०६ किलो सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११३.५ किलो बढी भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा ६ सय १ किलो काँचो सुन र ५ किलो हाराहारीमा तयारी अवस्थाका सुनका गरगहना आयात गरिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको अवस्थामा नेपालले गर्ने आयातसमेत बढेको देखिएको हो । विभागका अनुसार पछिल्लो तीन महिनामा १० अर्ब २५ करोड रुपैयाँ बढीको सुन आयात भएको छ । ७ करोड १५ लाख रुपैयाँ बराबर सुनका गरगहना आयात भएको छ ।

सुन आयातबाट सरकारले एक अर्ब दुई करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । सुनका गरगहना ३४ लाख रुपैयाँ बराबरको आयात भएको पनि भन्सार विभागले जनाएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर दैनिक २५ किलोसम्म ल्याउन पाउने व्यवस्था गरेको छ ।

यस्तै, ४० करोड रुपैयाँ बराबरको प्रशोधन नगरिएको (गोल्ड प्लेट सहितको प्लाटिनम) सुन करिब २८ किलो आयात भएको छ । यो श्रेणीको सुन आयातबाट चार करोड नौ लाख ९९ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्