काठमाडौं, ९ कात्तिक - तिहार बिदापछि आइतबार खुलेको शेयरबजार सामान्य अंकले बढेर बन्द भयो । कारोबार मापक नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने खासै बढ्न सकेन । दशैंपछि, तिहारअघि दैनिक औसत कारोबार तीन अर्ब रुपैयाँ भन्दा बढी थियो । तर तिहारपछि खुलेको पहिलो कारोबार दिन जम्मा दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार रकम खुम्चिदै जानुलाई शेयरबजारका विश्लेषकहरूले लगानीकर्ता निर्धक्क भएर लगानी गर्न डराएको रूपमा लिनुपर्ने बताएका छन् । देशमा राजनीतिक अस्थिरता थप बढ्ने आशंका उत्पन्न हुँदा लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिन्छ । शेयरकारोबारमा लगानीकर्ताहरूको सक्रियता न्यून देखिएको छ ।
अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छन्, तर राजनीतिक अस्थिरता बढ्दै गएको र लगानीको वातावरण बन्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर करिब ११ खर्ब रुपैयाँ पुगेको छ । यसले लगानीकर्तामा लगानी गर्ने हिम्मत अझै बढ्न नसकेको संकेत गर्छ ।
आइतबार कारोबारमा आएका २४८ कम्पनीमध्ये १४६ वटाको शेयरमूल्य घटेको छ भने ९८ वटाको बढेको छ । बाँकी चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । सूचीकृत १३ समूहमध्ये पाँच समूह बढेका छन् भने बाँकी घटेका छन् । जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूह बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सात प्रतिशत धेरै बढेपछि अन्य समूहमा राम्रो वृद्धि देखिएको हो । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र म्युचुअल फण्ड समूह घटेका छन् । एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार लगानीकर्ताको सम्पत्ति नौ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४१ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक भने एक अर्ब रुपैयाँ बढेर १४ खर्ब २० अर्ब रुपैयाँ कायम भएको छ ।
ह्यात होटलको शेयरमूल्यमा उच्च गिरावट
तारागाउँ रिजेन्सी होटल (ह्यात होटल) लिमिटेडको शेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ । यो होटलले अनिश्चित कालका लागि सेवा बन्द गरेपछि शेयरमूल्यमा उच्च गिरावट भएको हो । जेनजी आन्दोलनको क्रममा क्षति भएपछि होटल व्यवस्थापनले पुनर्निर्माण नभएसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि आइतबार खुलेको शेयरबजारमा यो होटलको शेयरमूल्यमा उच्च गिरावट आएको हो ।
तिहारअघिको अन्तिम कारोबार दिन पनि ह्यातको शेयरमूल्यमा गिरावट आएको थियो । सो दिन बजार बन्द हुँदा शेयरमूल्य ७९६ रुपैयाँमा बन्द भएको थियो । तिहार पछि आइतबार खुलेको बजारमा तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य प्रतिकित्ता ५७ रुपैयाँ घटेर ७३९ रुपैयामा झरेको छ । होटलको सेवा बन्द भएपछि आम्दानी प्रभावित हुने र लाभांश पाउने सम्भावना नभएपछि शेयरधनीले शेयर बिक्री बढाएका हुन् ।