काठमाडौं (संवाददाता) – सरकारले आगामी फागुनमा पालो सकिँदै गरेका १८ जना राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस अगाडि नै तय भइसकेको राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि चुनावी प्रक्रिया अन्य निर्वाचनभन्दा फरक छ । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । त्यसमध्ये प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य रिक्त हुने र नयाँ आउने व्यवस्था गरिएको छ । राष्ट्रियसभाको सदस्यका लागि जनप्रतिनिधिले मात्रै चुनावमा मतदान गर्न पाउने व्यवस्था छ ।
२०७६ सालको चुनावबाट निर्वाचित भएका १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० बाट सकिँदैछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । एकजना मनोनीत नै हुने भएकाले बाँकी १८ जना सदस्य पुनः निर्वाचनबाट आउनेछन् । आउँदो फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ पद रिक्त हुन लागेको हो । अध्यक्ष दाहालको पनि त्यसै समयमा कार्यकाल सकिँदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले तालिका आन्तरिक ढंगले निर्णय गरिसकेको बताएको छ । निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिरहेको बताएको छ । साथै सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको हो ।
सरकारको अर्को निर्णय कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसल डेभलपमेन्ट’ विषय कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको टोलीको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । भ्रमण कात्तिक १७ देखि २० गतेसम्म हुने बताइएको छ । त्यसैगरी सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ । अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ऐन संशोधन गर्दै जिल्ला प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गर्नेगरी व्यवस्था गरेको थियो । त्यसलाई उल्ट्याउँदै नियमावली स्वीकृत गरिएको हो ।
कार्यकाल सकिएर बिदा हुन लागेका माओवादी केन्द्र सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एमालेका सांसदहरूमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिदैछ ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन् । राष्ट्रियसभामा सदस्य संख्या ५९ हुने संरचना छ ।