नेभिगेशन
नेपाल

कांग्रेस संस्थापन निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा

काठमाडौं, १२ कात्तिक - आगामी २१ फागुनको निर्वाचनपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेको नेपाली कांग्रेसको संस्थापन पक्ष यसै अडानमा अडिग देखिएको छ । ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवाद तीव्र बन्दै गएको बेला दुई दिनसम्म चलेको संस्थापन पक्षीय भेलाले नियमित महाधिवेशनकै तयारी गर्नुपर्ने अनौपचारिक सहमति गरेको हो ।

मंगलबार र बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित भेलामा पार्टीका कार्यवाहक सभापित पूर्णबहादुर खड्कासँगै संस्थापन पक्षधर शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्म सहभागी थिए । सहभागी नेताहरूका अनुसार वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लागेकाले विशेष महाधिवेशनमा जान नहुने निष्कर्ष निकालिएको हो । छलफलमा नेताहरूबीच आगामी २१ फागुनमा तय भएको निर्वाचनलाई प्राथमिकता दिदै आगामी वर्ष वैशाखमा १५औं महाधिवेशन गर्ने समझदारी बनेको बताइएको छ । 

भेलामा केन्द्रीय सदस्य गुरू बरालले साझा धारणा बनाउन बैठक आयोजना गरिएको जानकारी दिए । ‘केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘नियमित अधिवेशनमै जानुपर्छ, निर्वाचनलाई उपयोग गर्दै संगठनलाई सुदृढ बनाउनुपर्छ भन्नेमा एकमत छ ।’ 

भेलाको सुरूवातमा केन्द्रीय सदस्य विमलेन्द्र निधिले धारणा राख्दै वैशाखअघि महाधिवेशन गर्न सम्भव नभएको तर्क गरेका थिए । ‘चुनाव नजिकिएको छ, त्यसैले अहिलेको प्राथमिकता निर्वाचन हो,’ निधिको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘यस विषयमा संस्थापन पक्षभित्र कुनै मतभेद छैन ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण स्थगित भएपछि बिहीबारदेखि पुनः सुरु हुँदैछ । गत असोज २८ देखि सुरु भएको बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल भइरहेका छन् । बैठकमा बोल्न बाँकी नेताहरूले विशेष अधिवेशनमा नजाने र नियमित अधिवेशनकै तयारी गर्नुपर्ने धारणा राख्ने बताइएको छ ।

उता, ‘विशेष महाधिवेशन पक्षधर’ समूहले भने पार्टीमा तत्काल नेतृत्व परिवर्तन आवश्यक भन्दै दबाब बढाएको छ । १४औं महाधिवेशनका झण्डै ५३–५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गराएका छन् । तर, सो मागलाई केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा बनाउन संस्थापन पक्ष तयार छैन । हस्ताक्षर संकलनमाथि नै संस्थापनका नेताहरूले प्रश्न उठाएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने पछिल्ला दिनमा पार्टीभित्र तत्काल परिवर्तन आवश्यक रहेको मतमा छन् । थापाले पछिल्लो सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘संगठन निष्क्रिय भएको छ, नयाँ नेतृत्वका लागि विशेष महाधिवेशनबाटै बाटो खोल्नुपर्छ ।’ त्यस्तै, महामन्त्री शर्मा पनि केन्द्रीय कार्यसमितिमा जनभावना अनुसार छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् ।

यद्यपि, सभापति शेरबहादुर देउवानिकट नेताहरू विशेष अधिवेशनले संगठनलाई अझ विभाजित बनाउने तर्क गर्दै आएका छन् । संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले भने, ‘हामीले २१ फागुनको निर्वाचनलाई मुख्य एजेन्डा मानेका छौं । त्यसपछि मात्र नियमअनुसार नियमित महाधिवेशनमा जाने निर्णय पक्का हो ।’ धोबीघाट भेलामा सहभागी नेताहरूले यही सहमति अनुसार बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्