वीरगञ्ज, पर्सा - २९ साउन । पर्सा प्रहरीले वीरगञ्जको एक सुन पसलमा छापामारी गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक दीपसन एण्ड सान्वी ज्वेलर्समा छापा मारेको हो ।
बिना विलविजक सुनचाँँदीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले बिहीबार दिउँसो २ः३० बजे छापामारी गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले करिब ३ घण्टा लगाएर सुनचाँदी खरिद–बिक्रीमा प्रयोग गरिएको बिलहरु छानबीन गर्दा शंका लागेको र थप अनुसन्धानका लागि उक्त बिलहरु आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई बोलाएर जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लाम्सालले बताए ।
यता प्रहरीले पसलमा छापामारी गरेको भन्दै पर्साका सुनचाँदी व्यवसायीहरुले विरोध गरेका छन् । गैरकानुनी ढंगले आफूहरुलाई दुख दिनका लागि छापा मारेको उनीहरुको आरोप छ ।
पर्साका सुनचाँदी व्यवसायीका अध्यक्ष भूलन सरार्फले सरकारलाई कर तिर्ने व्यवसायीहरुलाई सहयोग गनुपर्ने ठाउँमा उल्टै तर्साउन खोजेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘ बिलविजक मिले नमिलेको विषयमा छानविन गर्न राज्यको आफ्नो निकाय छ, उनीहरुले विधिवत रुपमा हेर्नुपर्छ र हामी सचेत व्यवसायीले राज्यलाई सहयोग गर्नुपर्छ । तर यो छापाको म विमति राख्छु ।’