नेभिगेशन
विश्व

ट्रम्पको आणविक परीक्षण निर्देश : नयाँ हतियार दौडको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने आकस्मिक निर्देशन दिएपछि विश्व राजनीतिमा हलचल पैदा भएको छ । यो कदमले दशकौँदेखि स्थिर देखिएको आणविक सन्तुलन पुनः संकटमा पर्ने आशंका गरिएको छ ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण कोरियामा हुने शिखर सम्मेलनअघि सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका थिए । आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ बताउँदै आएका ट्रम्पले लेखे, ‘अन्य देशहरूले परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका कारण मैले रक्षा मन्त्रालयलाई समान आधारमा परीक्षण सुरु गर्न निर्देशन दिएको छु ।’

तर उनको वक्तव्यले ठ्याक्कै के प्रकारको परीक्षण सुरु हुने हो भन्नेबारे अस्पष्टता छ । के यो केवल हतियार प्रणाली परीक्षण हो, वा वास्तविक आणविक विस्फोट ? यो प्रश्न अहिले अमेरिकी राजनीतिक र वैज्ञानिक वृत्तमै विवादको विषय बनेको छ ।
संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन ।

वैश्विक आलोचना र चिन्ता
ट्रम्पको घोषणापछि इरान, चीन र जापानबाट तीव्र प्रतिक्रिया आएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमा लेखे, ‘एक आणविक–सशस्त्र बदमाशीले परीक्षण पुनः सुरु गरेको छ, जबकि उही देशले इरानको शान्तिपूर्ण कार्यक्रममाथि दोषारोपण गर्दै आएको छ ।

जापानका हिरोसिमा–नागासाकीका बमपीडितहरूको संस्था निहोन हिडान्क्यो ले टोकियोस्थित अमेरिकी दूतावासमा औपचारिक विरोधपत्र बुझाएको छ ।

उक्त संस्थाले भनेको छ, ‘यो निर्णयले आणविक हतियाररहित विश्व बनाउने प्रयासमाथि प्रत्यक्ष चुनौती दिएको छ ।’ चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई व्यापक आणविक परीक्षण–प्रतिबन्ध सन्धिको पालना गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि वक्तव्य जारी गर्दै चेतावनी दिएका छन् – ‘कुनै पनि परिस्थितिमा आणविक परीक्षणलाई अनुमति दिन सकिँदैन । यस्तो कदमले विश्व शान्तिमा नयाँ संकट निम्त्याउन सक्छ ।’

रुस–अमेरिका प्रतिस्पर्धा पुनः तात्ने संकेत
ट्रम्पको निर्देशन रुसले केही दिनअघि मात्रै आणविक–सक्षम क्रुज मिसाइल र समुद्री ड्रोनको परीक्षण गरेको घोषणापश्चात् आएको हो । रुसी प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको दाबीमाथि प्रश्न उठाउँदै भने, ‘रुसको अभ्यासलाई आणविक परीक्षण भन्न मिल्दैन । तर यदि अमेरिकाले प्रत्यक्ष परीक्षण अघि बढायो भने, हामी पनि जवाफी कदम चाल्न बाध्य हुनेछौं ।’

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, हाल रुससँग ५४ सय ८९, अमेरिकासँग ५१ सय ७७ र चीनसँग करिब ६ सय आणविक हतियार छन् । यी दुई देशसँग मात्र विश्वका ९० प्रतिशत भन्दा बढी आणविक भण्डार रहेका छन् ।

सन् १९९२ ः अन्तिम अमेरिकी परीक्षण
संयुक्त राज्य अमेरिकाले सन् १९४५ देखि १९९२ सम्म कुल १,०५४ आणविक परीक्षण गरिसकेको छ । पहिलो परीक्षण ‘ट्रिनिटी’ नामक विस्फोट न्यू मेक्सिकोमा गरिएको थियो, र अन्तिम परीक्षण सन् १९९२ सेप्टेम्बर २३ मा नेभाडामा ‘अपरेसन जुलिन’अन्तर्गत सम्पन्न भएको थियो ।

त्यसपछि तत्कालीन राष्ट्रपति जर्ज एच. डब्लू. बुशले आणविक परीक्षणमा स्थायी रोक लगाएका थिए । अमेरिकाले त्यसयता परीक्षणका सट्टा कम्प्युटर सिमुलेसन र प्राविधिक विश्लेषणमार्फत हतियारको विश्वसनीयता मूल्याकंन गर्दै आएको छ । तर, अहिले ट्रम्पको निर्देशनले सो नीति उल्ट्याउने संकेत गरेको छ ।

वैज्ञानिक होइन राजनीतिक प्रभाव 
अमेरिकी वैज्ञानिक र सुरक्षाविद्हरूले ट्रम्पको कदमलाई राजनीतिक प्रदर्शन को रूपमा लिएका छन् । ‘बुलेटिन अफ एटमिक साइन्टिस्ट्स’ ले चेतावनी दिएको छ, ‘यदि अमेरिका पुनः परीक्षण सुरु गर्छ भने, त्यो नयाँ हतियार दौडको सुरुवात हुनेछ – जसले विश्वव्यापी सुरक्षालाई अस्थिर बनाउनेछ ।’

विज्ञहरूका अनुसार नेभाडा परीक्षण क्षेत्र पुनः सक्रिय गर्न दुईदेखि चार वर्ष लाग्न सक्छ । त्यसैले तत्काल परीक्षण सम्भव देखिँदैन ।
तर राजनीतिक सन्देश भने स्पष्ट छ – अमेरिका पुनः आणविक प्रतिस्पर्धाको मैदानमा फर्कन तयार देखिन्छ ।

शान्तिप्रतिको प्रश्न
राष्ट्रपति ट्रम्पले आफू ‘निःशस्त्रीकरणको पक्षपाती’ भएको दोहो¥याए पनि उनको निर्णयले विश्वभर प्रश्न उब्जाएको छ । रुस, चीन र उत्तर कोरियाले निरन्तर हतियार विस्तार गरिरहेका बेला अमेरिकाको यस्तो कदमले विश्व शान्ति र सुरक्षामा गम्भीर जोखिम थप्ने विश्लेषकहरूको ठहर छ । ‘यो केवल अमेरिकी नीति परिवर्तन होइन, शीतयुद्धको छायाबाट पुनः उदाएको नयाँ आणविक युगको प्रारम्भ पनि हुन सक्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्