नेपालमा महिला फिल्म निर्देशक औंलामा गन्न सकिन्छ । लामो समयदेखि फिल्म उद्योगमा रहेका कयौं निर्देशकहरूले आफूलाई दोहोर्याउने हिम्मत पनि गरेका छैनन् । यस्तोमा आफूलाई अजमाउने प्रयास नीता ढुंगाना अधिकारीले गरिरहेकी छन् ।
उनलाई आफ्नो मालसामानलाई कसरी बेच्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । थाहा नहोस् पनि कसरी ? यही उद्योगमा उनले साठीभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । यतिबेला भने उनी ‘पार्वती’ निर्देशन गर्ने घोषणाका कारण पुनः कारण चर्चामा छिन् ।
दशैंपछि फिल्म फ्लोरमा जाने तयारी नीताको छ । फिल्म निर्देशन गर्ने रहर कहाँबाट आयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई पहिलेदेखि नै फिल्मको प्राविधिक पक्षका बारेमा रुचि थियो । त्यसैले मन पर्ने विषय पाएपछि आफैं निर्देशन गर्ने हिम्मत गरें ।’
यो फिल्मका लागि नीता आफैंले कथा लेखेकी छन् । उनी आफैंले निर्देशनसँगै अभिनय पनि गर्ने भएकी छन् । ‘कथाले नै मलाई निर्देशन गर्ने आत्मविश्वास पलायो,’ उनले भनिन्, ‘फेरि मैले आफ्नै लगानीमा जोखिम मोलिरहेकी छु । अब मेरा लागि अभिनयसँगै निर्माणजस्ता कुरालाई राम्रोसँग व्यवस्थापन गर्न सक्छु कि सक्दिनँ भन्ने चुनौती छ ।’
फिल्ममा दीपाश्री निरौलाको भूमिका निकै सशक्त भएको पनि जानकारी दिइन् । उनले भनिन्, ‘यो फिल्ममा दुई जनाको सशक्त भूमिका छ । एउटा मेरो र अर्को चाहिँ दीपाश्री दिदीको । यसलाई तपाईंले महिलाप्रधान सन्देशमूलक फिल्म भन्न सक्नुहुन्छ ।’
फिल्ममा नायक नभएका कारण कुनै चर्चित अनुहारलाई अनुबन्धित नगरिएको पनि उनले बताइन् । भन्छिन्, ‘फिल्ममा हिरो छैन । कथा नै हिरो छ । त्यसैले, हामीले हिरोको छनोट गरेका छैनौं ।’
फिल्म बन्नु कहिले हो, अहिले नै हल्ला गर्न थाल्नुभयो नि भन्ने प्रश्नमा उनले फिल्म उद्योग नै हल्ला गर्ने उद्योग भएकाले शुरुबाट नै हल्ला गरेको बताइन् । ‘यहाँ हल्ला नगरी चूपचाप बस्यो भने त फिल्मका बारेमा जानकारी नै नहुन सक्छ । फ्लोरमा जानुअघि हल्ला गरेपछि फिल्मको ब्रान्डिङमा सघाउ पुग्न सक्छ । त्यसैले हरेक दिन चर्चाका लागि केही न केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
फिल्म निर्देशन आफ्नो रुचिको विषय भएको पनि उनले बताइन् । ‘मैले यसअघि दुई वटा म्युजिक भिडियो निर्देशन गरिसकेकी छु,’ उनले निर्देशनबारे भनिन्, ‘त्यसपछि ह्रश्वदीर्घ फिल्म निर्देशन गर्न भनिएको पनि थियो, तर मलाई आँट आएन । जब मैले त्यसको निर्माण पक्षलाई ध्यान दिएँ, त्यसैले मलाई निर्देशनको आँट पलाएर आयो ।’

‘पछिल्लो फिल्ममा आफ्नो सोचलाई अरुले ठ्याक्कै पर्दामा उतार्ला भन्नेमा शंका भएपछि आफैं निर्देशनका लागि आँट बटुलेँ,’ उनले भनिन् ।
अहिले फिल्मको बजेटबारे छलफल भइरहेको उनले बताइन् । फिल्मको प्रदर्शन मिति भने उनले टुंगो लगाइसकेकी छन् । माघ १ गतेबाट प्रदर्शन हुने यस फिल्मको दुई वटा पोस्टर उनले सार्वजनिक गर्दै मिति तोकेकी हुन् ।
शिवम् अधिकारीले यसको पटकथा–संवाद लेखेका छन् । फिल्मको छायाँकन कवीर लाल र शाहीद लालले गर्ने भएका छन् । यी दुईले यसअघि ‘ह्रश्व–दीर्घ’को छायांकन गरेका थिए ।
बाबुछोरा लालसँग पहिलो फिल्मबाट नै निकै सहज वातावरण बनाएका कारण पुनः उनीहरूसँग काम गर्न तयार भएको नीताले बताइन् ।