नेभिगेशन
मनोरञ्जन

गायक भविन ढुंगानाको ‘अनप्लग्ड’

शास्त्रीय संगीतमा प्रशिक्षित गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ गते (नोभेम्बर २८) काठमाडौंमा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। करिब एक सय दर्शकको सहभागितामा आयोजना हुने उक्त कार्यक्रमलाई ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ नाम दिइएको छ।
सेभेन वन्डर्स म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा भविनले आफ्ना मौलिक सिर्जना, चर्चित धुन तथा विभिन्न गीतका ध्वनिक प्रस्तुति दिनेछन्।
कार्यक्रममा पूर्वीय शास्त्रीय संगीत, अर्धशास्त्रीय संगीत तथा समकालीन फ्युजन शैलीका प्रस्तुति समेटिनेछन्। भविनलाई तबला, गितार, तालवाद्य, किबोर्ड र बाँसुरीका वादकले प्रत्यक्ष रूपमा साथ दिनेछन्।
सांगीतिक प्रस्तुतिलाई दर्शकसँग नजिकबाट जोड्ने उद्देश्यले सीमित सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको भविनले बताएका छन्। सानो र आत्मीय वातावरणमा संगीतका सूक्ष्म पक्ष तथा भावनालाई दर्शकले प्रत्यक्ष अनुभव गर्न पाउने उनको भनाइ छ।
नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय भविन गायक, संगीतकार तथा गायन प्रशिक्षकका रूपमा परिचित छन्। उनी गायन प्रतियोगिता ‘नेपाली तारा’को पहिलो संस्करणका उत्कृष्ट प्रतिस्पर्धीमध्ये एक हुन्। उनले ‘द भ्वाइस अफ नेपाल’का पहिलोदेखि तेस्रो सिजनसम्म गायन सल्लाहकारका रूपमा समेत काम गरेका थिए।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिइसकेका भविनले आफ्नो संगीतमा पूर्वीय शास्त्रीय संगीतको आधारलाई अर्धशास्त्रीय तथा पप शैलीसँग जोड्दै आएका छन्।
कार्यक्रममा एक सय जनालाई मात्र सहभागी गराइने भएकाले आयोजकले अग्रिम टिकट बुकिङ गर्न आग्रह गरेको छ। टिकट तथा अन्य जानकारीका लागि सेभेन वन्डर्स म्युजिक एकेडेमीको ह्वाट्सएप नम्बर ९७६५९७४९१८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै